कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने

लोकप्रिय

लेखनाथ, माघ ८ गते।  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी देशैभर भइरहेको छ।  यसै क्रममा कास्कीमा चुनावी आचारसंहिता पालनमा कठाइ गर्न थालिएको छ।  प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको कास्कीका कार्यालय प्रमुखहरुको बैठकले सबै कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा कर्मचारी एवम् सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सामाजिक सञ्जालमा पूर्ण रुपले आचारसंहिता पालना गराउने निर्णय गरेको छ।

निर्वाचन आचारसंहिता २०८२ अनुसार कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, सर्वजनिक पद धारण गरेकाहरुले सामाजिक सञ्जालमा निर्वाचन सम्बन्धित पक्ष विपक्षमा आएका पोष्टलाई सेयर, लाइक र कमेन्ट गर्न पाउँदैनन्।  प्रशासनले  राजनीतिक दलका निर्वाचन सम्वद्ध कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिएको छ।

निर्णयमा भनिएको छ, “सङ्घ, प्रदेश र स्थानीय तहका अर्ध सरकारी, सार्वजनिक संस्थामा कार्यरत कर्मचारीले कुनै पनि राजनीतिक दल, उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार नगर्ने, वैठक सभा गोष्ठीमा भाग नलिने। ” मतदान नसकिएसम्म कास्कीमा मेला, महोत्सव लगायतका कुनै पनि सार्वजनिक कार्यक्रम सञ्चालन गर्न अनुमति नदिने भएको छ।

निर्वाचन सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भएकाले यस्तो व्यवस्था मिलाउन स्थानीय तहहरूलाई निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो।  कारागारबाट भागेका कैदी र हिरासतबाट भागेका थुनुवालाई फर्काउन पनि पहल गर्ने निर्णय भएको छ।

 

ताजा समाचार

Related Articles