खासकुरा संवाददाता
हेटौँडा, माघ १० गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको यस जिल्ला १५ जना स्वतन्त्र उम्मेदवारले कैचीदेखि खसीको टाउकोसम्म चुनाव चिह्न पाएका छन् । प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिएको जानकारी दिनुभयोे ।

मकवानपुरको निर्वाचन क्षेत्र नं.१ का स्वतन्त्र उम्मेदवार अमिक परियारले काउली, अमर दंगालले खसीको टाउको, टीकाप्रसाद चौलागाईले चेसको गोटी, प्रमिलाकुमारी खतिवडाले ठेकी, मठु पुलामी मगरले फिरफिरे, राजाराम बोगटीले जिप, राकेशकुमार शर्माले आँप, राजकुमार खड्काले प्रेसर कुकर, सुशीला सुवेदीले झोला र ज्ञान सागर लामालाई कैची चुनाव चिन्ह प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै मकवानपुरको निर्वाचन क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार अमृत बलले त्रिभुज, कृष्णराम श्रेष्ठले जिप, प्रतिक्षा बानियाँले ठेकी, रमेश आचार्यले क्यामरा र सीतामाया वलले ट्रफी चुनाव चिह्न प्राप्त गर्नुभएको छ । राजनीतिक दलको चुनाव चिह्न निर्वाचन आयोगमा दर्ता भएको अनुसार निर्धारण गरिएको छ ।
मकवानपुरमा निर्वाचन क्षेत्र नम्बर १ मा २३ जना र क्षेत्र नम्बर २ मा २१ जना गरी ४४ जनाको उम्मेदवारी कायम भएको छ ।




