हेटौँडा, माघ ११ गते । जनजिविका, राष्ट्रियता र लोकतन्त्र प्राप्तिका लागि विभिन्न भएका राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने सहिदहरुको सम्झनामा सहिद सप्ताह सुरु भएको छ ।
सहिद सप्ताहको दोस्रो दिन हेटौँडा उपमहानगरपालिका ११ स्थित सहिद स्मारक परिसरमा आइतबार बिहान सरसफाई गरिएको छ ।
सहिद स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले सहिद सप्ताह २०८२ का अवसरमा साताव्यापी रुपमा माघ १६ गतेसम्म विभिन्न कार्यक्रम गरिने जानकारी दिनुभयो ।

सोमबार समितिको वार्षिक साधारणसभा र हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को व्यवस्थापनमा सहिद स्मारक र विद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रम, माघ १३ गते स्मारक परिसरमा रक्तदान कार्यक्रम, माघ १४ गते हेटौँडा–१२ स्थित प्रथम सहिद लखन थापा बाटिकामा श्रद्धान्जली कार्यक्रम र माघ १५ गते सहिदको सपना र नवयुवाको कर्तव्य विषयक माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिने भएको छ । यस्तै सहिद सप्ताहको अन्तिम दिन माघ १६ गते प्रभातफेरी, श्रद्धान्जली सभालगायतका कार्यक्रम गर्ने तय भएको छ ।

यसैबिच माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिनुभएको थियो । सोही दिनको स्मरण गर्दै शनिबारबाट उहाँको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह सुरु गरिएको हो ।
तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।
यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।




