बागमती प्रदेशबाट कांग्रेस र एमाले गठबन्धनका उम्मेदवार निर्वाचित

लोकप्रिय

हेटौँडा, माघ ११ गते । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् । महिलातर्फ कांग्रेसकी गीता देवकोटा र अन्य समूहबाट एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित हुनुभएको हो ।

महिलातर्फ निर्वाचित देवकोटाले प्रदेश सभातर्फ ३ हजार १८० मतभार र स्थानीय तहतर्फ ३ हजार ०५९ मतभार गरी कुल ६ हजार २३९ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी अन्य समूहबाट निर्वाचित दंगालले प्रदेश सभातर्फ ३ हजार १२७ मतभार र स्थानीय तहतर्फ ३ हजार ७८ मतभार गरी कुल ६ हजार २०५ मतभार प्राप्त गर्दै विजयी हुनुभयो ।

महिलातर्फ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार सरोजकुमारी झाले २ हजार ५२२ मतभार र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की कविता महर्जनले १९७ मतभार पाउनुभयो । अन्य समूहमा नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मतभार प्राप्त गर्नुभयो भने नेमकिपाका विक्रम ढुकुक्षुले १७ मतभार पाउनुभयो । निर्वाचनमा प्रदेश सभातर्फ ३ र स्थानीयतह तर्फ ४ मत बदर भएको निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।

निर्वाचनमा बागमती प्रदेशसभाका ८९ जना प्रदेशसभा सदस्य र स्थानीय तहका २२९ जना प्रमुख तथा उपप्रमुख गरी कुल ३१८ जनाले मतदानमा सहभागी भएका थिए ।

हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । निर्वाचनमा १५ जना प्रदेशसभा सदस्य र ५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २० जना अनुपस्थित रहेका थिए ।
राप्रपा र हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्यहरूले मतदान प्रक्रियामा सहभागिता जनाएनन् ।
राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा महिलातर्फ १ र अन्यतर्फ १ गरी दुई पदका लागि मतदान भएको हो ।

ताजा समाचार

Related Articles