खासकुरा संवाददाता
हेटौँडा, माघ १४ गते । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० बेतेघारी गाउँलाई सफा र स्वच्छ गाउँ घोषणा गरिएको छ । ३७ घरधुरी रहेको गाउँलाई मंगलबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सफा र स्वच्छ गाउँ घोषणा गर्नुभएको हो ।

उहाँले खानेपानी सरसफाइमा ध्यान दिँदै स्वच्छ र सफा गाउँ बनाउन लाग्नुपर्ने भन्दै खानेपानी आम नागरिकको मौलिक अधिकार भएकको बताउनुभयो । मानव जीवनमा पानी र सरसफाई अपरिहार्य रहने भएकाले शुद्ध खानेपानी पिउन सबैमा अनुरोध छ, अध्यक्ष मुक्तानले भन्नुभयोे, खानेपानीको कार्यक्रमहरुलाई दीगोपना दिन गाउँपालिकाले विभिन्न संस्थासँगको साझेदारीमा कामहरु गरिरहेको छ खानेपानी दीगो बनाउन सबैको दायित्व हो ।
उहाँले भन्नुभयो एक घर एक धारा राज्यको नीति छ, सोही अनुरुप हामीले क्रमिक रुपमा टोलटोल र गाउँगाउँमा काम गरिरहेका छौं ।

गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले नेपाल सरकारको दीगो विकाससँग जोडिएको सरसफाई र खानेपानीक्षेत्रलाई व्यवस्थित र आवश्यक पूर्वाधारका कार्यहरु भइरहेको भन्दै गाउँ समाज र टोललाई सफा र स्वच्छ गाउँ बनाउने अभियान सबै वडा वडामा लैजाने लक्ष्य गाउँपालिकाको रहेको बताउनुभयो ।
वडा १० का वडाध्यक्ष सूर्यबहादुर ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य जुनसरी राई, बिमला सुनार, स्वास्थ्य शाखा प्रमुख तिलक प्रसाद गौतम, प्रेम सेवा समाजका अध्यक्ष मीरा स्याङ्तान, उपाध्यक्ष दलमान गुरुङ, आधारभूत स्वास्थ्य चौकी भाल्टारका प्रमुख सन्तोष कुमार सिंह, बेतेघारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष आइत सिं स्याङ्बोलगायतको आतिथ्यता रहेको थियो ।
गाउँपालिकाले प्रेम सेवा समाजसँगको साझेदारीमा एक घर एक धारा, खानेपनी ट्याङ्की निर्माण गरेको हो ।




