हेटौँडा, माघ १४ गते । नेपाली कांग्रेस मकवानपुरले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै कार्यकर्ता भेटघाट अभियानलाई तीव्र बनाएको छ। सोही क्रममा बुधबार पश्चिमी मकवानपुरको मनहरी, राक्सिराङ र कैलाशमा आयोजित कार्यक्रममार्फत कांग्रेसका नेता र उम्मेदवारहरूले पार्टीका विभिन्न तहमा रहेका पदाधिकारी तथा सदस्य र कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका छन्।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी निवर्तमान सहमहामन्त्री तथा मकवानपुर क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले मकवानपुरका विकट गाउँ–बस्तीमा विकासको मूल फुटाउने शक्ति नेपाली कांग्रेस नै भएको बताउनुभयो। उहाँले कैलाश र राक्सिराङजस्ता विकट क्षेत्रमा नेपाली कांग्रेसकै पहलमा विकासको काम अघि बढेको उल्लेख गर्दै अब जनताको मतबाट जित हासिल गरेपछि ती क्षेत्रलाई अझ विकसित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पहिले घण्टौँ लाग्ने यात्रा अहिले केही मिनेटमै सम्भव भएको उदाहरण प्रस्तुत गर्दै डिनाले भन्नुभयो, “यो पटक मलाई भोट दिएर जिताइदिनुहोस्, त्यसपछि म तपाईका आवाज संसदसम्म लैजाने छु, अभिभावकको भूमिकामा रहनेछु।” जनताको हितमा काम गर्ने पार्टी कांग्रेस मात्रै भएको दाबी गर्दै उहाँले जितेपछि पनि जनताकै सेवामा निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभयो।

यस्तै, कांग्रेस मकवानपुरका सभापति तथा मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामाले अब देशको नेतृत्व युवा पुस्ताको काँधमा आएको बताउनुभयो।
“जनतालाई सुख–शान्तिको अनुभूति गराउन र तीव्र विकासका लागि गगन थापालाई प्रधानमन्त्री बनाउनु पर्छ,” लामाले भन्नुभयो । उहाँले चुनाव जितेपछि मकवानपुरको विकट गाउँपालिका र बस्तीहरुलाई पहिलो प्राथमिकतामा राखेर विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक माइकल रामचन्द्र अर्याल, कांग्रेस नेताहरु आनन्दराम पराजुली, सन्तबहादुर चेपाङ, जानकी लामा, कांग्रेसको समानुपातिकतर्फका उम्मेदवार शर्मिला श्रेष्ठ, जिल्ला सचिव ईश्वर पाठक, जिल्ला सहसचिव ईन्दिरा न्यौपाने, प्रदेश निर्वाचन क्षेत्र २(ख) का सभापति रञ्जन कालाखेती, पालिका अध्यक्षहरु, गाउँपालिका पार्टी सभापतिहरू मनहरीका प्रकाश बर्तौला, राक्सिराङका वीरेन्द्र लामा, कैलाशका राजेन्द्र घिसिङ, महासमिति, महाधिवेशन, प्रतिनिधिहरुलगायतको उपस्थिति थियो।




