हेटौँडा, माघ १५ गते । हेटौँडामा ध्वनि प्रदुषण गरी डान्सबार संचालन गर्ने कार्य रोक्नुपर्नेमा जोड दिइएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा जिल्ला प्रहरी कार्यालय मकवानपुरका नवआगन्तुक प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम खत्रीसँग बिहीबार हेटौँडामा समसामयिक विषयहरुमा भएको छलफलमा यस्तो माग गरिएको हो ।
कार्यक्रममा समाजमा अरुलाई असहज हुनेगरी ध्वनि प्रदुषण गरी डान्सबार संचालन भएको भन्दै यस्ता कार्य तत्काल रोक्नुपर्ने माग गरिएको थियो ।

सो अवसरमा पर्यटनमा असर पर्नेगरी भारतीय साना सवारीलाई राजमार्गबाट डाइभर्ट गरी हेटौँडाको बाइपास ढाटमा पु¥याइ करअसुल्ने कार्य रोक्नुपर्ने, अत्यधिक ध्वनि प्रदुषणसहित मोटरसाइकल चलाउने प्रवृत्ति देखिएकोले कारवाही गर्नुपर्ने र सुमो काउण्टर परिसरमा मात्र यात्रुहरुसँग सिट सुरक्षित गर्न वार्तालाप गर्नुपर्नेमा बाहिर सडकमा आइ असम्बन्धित मान्छेहरुलाई डाक्ने कार्य अभद्र देखिएकोले निरुत्साहित गर्नुपर्ने माग गरिएको छ ।
प्रहरी उपरीक्षक खत्रीले नेपालको गाँजा छिमेकी मुलुकमा पुगी प्रशोधन गरी खैरो हिरोइनको रुपमा नेपाल भित्रिने गरेको भन्दै हत्याहिंसा बढ्दै जाँदा प्रहरी हिरासत र कारागार भरिंदै गएको बताउनुभयो ।

उहाँले गुणस्तरीय सिसिटिभी सडक सुरक्षाको लागि आवश्यक रहेको र गुण्डागर्दी नियन्त्रण गर्न प्रहरी परिचालन गरी कारबाही गरिने जनाउँदै विगतमा तीन महिनामा गलत तरिकाले सवारी चलाउंदा २२२ वटा मोटरसाइकल चालकलाई कारबाही चलाएको जानकारी दिनुभयो ।
मउवासंघका अध्यक्ष प्रमोद सिंह रानाभाटले रानाभाटले चौकीटोलस्थित तरकारी बजारमा प्रहरी बिटको आवश्यक भएको भन्दै बढ्दो चोरीका घटनाहरु न्यूनीकरण गर्न कडाइ गर्नुपर्ने गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेती र महासचिव प्रतिमा श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।




