काठमाडौँ, माघ १८ गते । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र पारेको छ। आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै गत माघ १० गतेदेखि १८ गतेसम्म सम्पादन भएका मुख्य-मुख्य कार्यहरूको विवरण सार्वजनिक गरेको हो।

आयोगका अनुसार निर्वाचनको पूर्वतयारी अन्तर्गत मतपत्र छपाइ, संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना, आचारसंहिताको नियमन र अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गर्ने लगायतका महत्त्वपूर्ण कामहरू सम्पन्न भएका छन्। आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार थान मतपत्र र मतदाता शिक्षाका लागि करिब ११ लाख थान नमुना मतपत्रको छपाइ कार्य सम्पन्न गरेको छ।

यस्तै, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म २५ जिल्लाका ३० लाख मतपत्र छापिसकिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।




