प्रदेश सरकारलाई उत्तरदायी बनाउनुपर्छ

लोकप्रिय

हेटौँडा, माघ १८ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाले कानून तथा नीति निर्माणमार्फत प्रदेश सरकारलाई उत्तरदायी बनाउनुपर्ने बताउनुभएको छ ।
उहाँले प्रदेश सभाको सभाको आठौँ वार्षिकोत्सवको अवसरमा आइतबार हेटौँडामा आयोजित कार्यक्रममा यस्तो बताउनु भएको हो ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानले प्रदेश सभालाई जनताको सर्वोच्च अधिकार प्रयोग गर्ने लोकतान्त्रिक अभ्यासको प्रमुख थलोका रूपमा स्थापित गरेको भन्दै वार्षिकोत्सव कार्यक्रम उपलब्धिको उत्सव मात्र नभई आत्ममूल्याङ्कन, संस्थागत सुदृढीकरण र जिम्मेवारी दोहो¥याउने अवसर भएको बताउनुभयो ।

उहाँले संख्यात्मक भन्दा गुणस्तरीय कानून, औपचारिक बहसभन्दा परिणाममुखी निर्णय र जनताले प्रत्यक्ष अनुभूति गर्ने सुशासनको अपेक्षा प्रदेशवासीले गरिरहेको उल्लेख गर्दै बागमती प्रदेशको समृद्धिका लागि प्रदेश सभा अझ सक्रिय र जनमुखी बन्ने बताउनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय सरकारको पत्र देखाएर प्रदेश सरकारले गरेका निर्णय कार्यान्वयन नगर्ने कर्मचारीको प्रवृत्तिले समस्या आएको बताउनुभयो । उहाँले सरकारको सफलता वा असफलता कर्मचारीको भूमिकामा निर्भर रहने भन्दै नेताहरूको बोली र व्यवहारबीचको अन्तरले पनि लोकतान्त्रिक व्यवस्थामाथि चुनौती थपिएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख विपक्षी दलका नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाको बैठक बोलाउन र सभामुखको निर्वाचन गर्न माग गर्नुभयो । संविधानको रक्षा र स्थायित्वका लागि निर्वाचन हुनुपर्ने उहाँको भनाई थियो ।
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले गरेका कामका विषयमा जनतालाई जानकारी गराउनुपर्ने बताउनुभयो ।
बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र साविक नेकपा समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले बोल्नुभएको थियो ।
कार्यक्रममा प्रदेश सभाले कामरु समेटिएको प्रदेशसभा दर्पण पुस्तक विमोचन र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

ताजा समाचार

Related Articles