मकवानपुर, माघ १९ गते । मकवानपुरका राजनीतिक दल र उम्मेदवारहरु प्रतिनिधि सभा निर्वाचन लक्षित योजना र रणनीति बनाउन व्यस्त छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयनपछि दलहरु आन्तरिक व्यवस्थापनसँगै निर्वाचन लक्षित योजना र रणनीति बनाउन लागेका हुन् ।
निर्वाचन आयोगले आगामी फागुन ४ गतेभन्दा अघि प्रचार प्रसार र आमसभा गर्न रोक लगाएसँगै दल र उम्मेदवारहरु कार्यकर्ता र शुभेच्छुक भेटघाट तथा बैठकमा सीमित बनेका छन् ।
दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा विभिन्न राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार समिति गठन तथा सम्पर्क कार्यालय स्थापना गर्न थालेसँगै चुनावी सरगर्मी बढ्न थालेको छ ।
दल र उम्मेदवारहरु चुनावी जोड घटाउ गर्दै मतदाता रिझाउने योजना बनाउन सक्रिय देखिन्छन् ।
नेपाली कांग्रेस मकवानपुर जिल्ला निर्वाचन परिचालन समितिका संयोजक माइकल रामचन्द्र अर्याल उम्मेदवारी मनोनयन दर्तासँगै चुनावी प्रचारको रणनीति बनाउन लागेको बताउनुहुन्छ ।
कांग्रेसले ५०१ सदस्यीय निर्वाचन परिचालन समिति बनाएको छ ।
उहाँले जिल्लाका १०२ वटा वडामा नै जिल्ला प्रतिनिधि खटाएर परिचालन गरेको बताउँदै जिल्ला प्रतिनिधिले क्रियाशील सदस्यको भेला, वडाको वस्तुस्थिति आकलन, प्रचार समिति गठन र प्रचारप्रसार कार्यालय स्थापनादेखि चुनावी रणनीति बनाउन सहजीकरण गर्ने बताउनुभयो ।
जिल्लास्तरमा निर्वाचन परिचालन समिति बनाएको कांग्रेसले संघीय, प्रदेश, पालिका र वडास्तरमा सम्बन्धित समितिका सभापति निर्वाचन परिचालन समितिको संयोजक रहने गरी निर्णय गरेको छ ।
यस्तै नेकपा एमाले निर्वाचन परिचालन समिति बनाएर निर्वाचन पूर्वको तयारीलाई तीव्र बनाएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मकवानपुर ईञ्चार्ज तथा प्रतिनिधिसभाका उम्मेदवार रामेश्वर रानाको संयोजकत्वमा दुई हजार २५ सदस्यीय परिचालन समिति गठन गरिएको जिल्ला उपाध्यक्ष हिदम लामाले जानकारी दिनुभयो ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नं. १ मा एकालाल श्रेष्ठ र क्षेत्र नं. २ मा भारती पाठकलाई संयोजकको जिम्मेवारी दिईएको प्रचार समितिका संयोजक नवीन सिग्देलले बताउनुभयो ।
उहाँले अहिले पार्टी कमिटीको बैठक, कार्यकर्ता भेटघाट, सम्पर्क कार्यालय स्थापनालगायतका निर्वाचनको गतिविधिलाई तीव्र बनाइएको बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टी( नेकपा) ले जिल्लाका विभिन्न स्थानमा अगुवा कार्यकर्ता भेला र निर्वाचन प्रचार सम्पर्क कार्यालय गठन गरेर कार्यकर्ता परिचालन सुरु गरेको छ । नेकपा मकवानपुरका अध्यक्ष भीम पाख्रिनले क्षेत्र नं. १ मा प्रेमबहादुर पुलामी र क्षेत्र नं. २ मा कुमारी मोक्तानको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएर निर्वाचन गतिविधि अगाडि बढाइएको बताउनुभयो ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले मकवानपुरले २३ सदस्यीय जिल्ला परिचालन समिति बनाएर निर्वाचन गतिविधि अगाडि बढाइएको जिल्ला सभापति भरत पराजुलीले जानकारी दिनुभयो ।
क्षेत्र नं. १ मा क्षेत्रीय सभापति सुरेश थापा (टाकाराज) को संयोजकत्वमा ५१ र क्षेत्र नं. २ मा निराजन बर्तौताको सयोजकत्वमा ६१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
सभापति पराजुलीले जिल्लाका दुईवटै क्षेत्रमा प्रचार प्रसार समिति गठनसँगै सम्पर्क कार्यालय खोल्ने कार्य सुरु गरेको बताउनुभयो ।

उता निर्वाचनको तयारीलाई तीव्र बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले गुरुप्रसाद सापकोटा संयोजकत्वमा एक हजार १११ सदस्यीय जिल्ला निर्वाचन अनुगमन टोली गठन गरेको छ । जिल्ला अध्यक्ष सागर थापा घरदैलोलगायत निर्वाचनको तयारीका लागि व्यस्त रहेको बताउनुहुन्छ । उहाँका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा अर्जुन गौतम क्षेत्र नम्बर २ मा सन्तराम रुम्बाको संयोजकत्वमा निर्वाचन लक्षित समिति गठन गरिएको छ ।
राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी नेपाल, नेकपा (माओवादी), नेपाल मजदुर किसान पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, उज्यालो नेपाल पार्टी, जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टी, संयुक्त नागरिक पार्टी, नेसनल रिपब्लिकन नेपाल, आम जनता पार्टीलगायतका दल र स्वतन्त्र उम्मेदवारले प्रचार प्रसार समितिहरू गठन गर्ने तथा निर्वाचन सम्पर्क कार्यालयहरू स्थापना, कार्यकर्ता र मतदाता भेटघाटलाई तीव्र बनाएका छन् ।
यस जिल्लामा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु ४१ जनाले मनोनयन दर्ता गराएका छन् ।




