हेटौँडा, माघ २४ गते । मातृभूमि साहित्य समाजको आयोजना तथा हेटौँडा उपमहानगरपालिका वडा नं. १ को सहकार्यमा कोइलीदेवी माथेमा स्मृति विशेष चर्चा, सम्मान तथा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ ।
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित ऐतिहासिक स्थल चिसापानी गढीमा जन्मनु भएकी नेपाली गीतसंगीत साधनाको अमर नाम माथेमाको स्मृतिमा शनिबार हेटौँडामा भएको कार्यक्रममा हेटौँडाकी नवोदित तथा प्रतिभाशाली गायिका शुलज्ञा राज्यलक्ष्मीलाई प्रथम “कोइलीदेवी स्मृति मातृभूमि सम्मान” समर्पण गरिएको थियो।

हेटौँडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले कोइली देवीको बारेमा प्रकाश पार्नुभएको थियो । खोज अनुसन्धानमा सक्रिय व्यक्तित्व केदार न्यौपाने, हेटौँडा वडा नं. १० का वडाध्यक्ष फुर्वा दोर्जे लामा र गायक कृष्ण गोपाल सिंहले कोइलीदेवी माथेमाका बारेमा चर्चा गर्नुभएको थियो ।
त्यसैगरी सम्मानित गायिका शुलज्ञा राज्यलक्ष्मी, गायिका सुनिता बुर्लाकोटी, पिएम सेन्टरका प्रमेन्द्र महर्जन र शुभारम्भ कला केन्द्रका गायक घनश्याम ढकालले कोइलीदेवी माथेमाका भजन तथा गीतहरू प्रस्तुत गर्नुभएको थियो ।




