दौड प्रतियोगिताका विजयी पुरस्कृत

लोकप्रिय

हेटौँडा, असोज ३ गते ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को अवसरमा हेटौँडामा भएको खुला दौड प्रतियोगिताका विजयी तथा उपविजयीहरुलाई पुरस्कृत गरिएको छ ।
संविधान दिवस एवं राष्ट्रिय दिवस २०८० को अवसरमा संविधान दिवस २०८० मूल समारोह समिति बागमती प्रदेशको आयोजनामा हेटौँडामा बुधबार भएको कार्यक्रममा प्रदेश प्रमुख यादव चन्द्र शर्माले खुला दौड प्रतियोगिताका विजयी तथा उपविजयी खेलाडीहरुलाई नगदसहितको पुरस्कार प्रदान गर्नुभएको हो ।
पाँच किमि खुला दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई क्रमशः सात हजार, छ हजार र पाँच हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्रदेश प्रमुख शर्माले वितरण गर्नुभएको गियो ।
प्रतियोगितामा महिलातर्फ नेपाली सेनाको कालीप्रसाद गणकी वसन्ती गोले, प्रथम, सेनाको त्रिनेत्र गणकी मनिषा पहरी दोश्रो र बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाकी जुना थापा क्षेत्री तेश्रो हुनुभएको थियो । यस्तै पुरुषतर्फको दौडमा सेनाको त्रिनेत्र गणका गणेश कुवँर, बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका निर्मल राना मगर र सेनाको गोरखबहादुर गणका यमन कटुवाल निर्धारित दुरी तय गर्दै क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नुभएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, पूर्व मुख्यमन्त्री डोरमणि पौडेललगायत प्रदेशका मन्त्रीहरुको उपस्थिति रहेको थियो ।
बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको सो दौड प्रतियोगितामा ७० जना धावकको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles