खासकुरा संवाददादाता
हेटौँडा, साउन ८ गते । नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले हेटौँडा उपमहानगरपालिका १६ हटियास्थित जनप्रिय माध्यमिक विद्यालय प्राविधिक शिक्षालयको अवलोकन भ्रमण गर्नुभएको छ ।
बासले शुक्रबार विद्यालय अवलोकन भ्रमणका क्रममा पढ्दै कमाउँदै कार्यक्रममा लागि सञ्चालित कृषि उत्पादन टनेल, विद्यालयका माटो परीक्षणलगायत कृषि तथा पशुपन्छी प्रयोगशालाको अवलोकन गर्नुभएको हो ।
अनुगमनका क्रममा उहाँले शैक्षिक गतिविधिका बारेमा कृषि प्राविधिक प्रशिक्षक सकल रिजालसँग सञ्चालित कार्यक्रमबारेमा चासो राख्दै शैक्षिक गतिविधिका बारेमा जानकारी लिनुभयो ।
राजदूत बासको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बस्ताकोटीले स्वागत तथा अङ्ग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले विद्यालयको समग्र शैक्षिक अवस्थाका बारे जानकारी गराउनुभयो ।
सो अवसरमा राजदूत बासले नेपाली विद्यार्थीहरूले इजरायलमा ज्ञान र सिप सिकेर आयआर्जन र नेपालको कृषि क्षेत्रको सुधारमा लाग्नुपर्ने सुझाउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादे, हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, वडा सदस्य सङ्गीता विश्वकर्मा, विद्यालय अध्यक्ष मोहनप्रसाद बस्ताकोटी, शिअसं अध्यक्ष गीताप्रसाद दुलाल, प्रधानाध्यापक भुपेन्द्र चौलागाईँ, सल्लाहकारहरूलगायतको उपस्थिति रहेको थियो ।




