काठमाडौँ, साउन ८ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत उद्धब भट्टराईलाई २१ हजार घुससहित नियन्त्रणमा लिएको छ।

स्थायी लेखा नम्बर (पान) बन्द गर्नका लागि वडा कार्यालयबाट प्रदान गरिनुपर्ने सिफारिस पत्रका लागि सेवाग्राहीसँग दु:ख हैरानी दिई घुस माग गरेको भन्ने सूचना र उजुरीका आधारमा आयोगको टङ्गालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले निजलाई नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार लेखा अधिकृत भट्टराईलाई सेवाग्राहीबाट २१ हजार रकम लिइसकेको अवस्थामा काठमाडौँ महानगरपालिका वडा नं. ३० को वडा कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो। रकमसहित नियन्त्रणमा लिइएका भट्टराईमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।




