बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको प्रशंसा

लोकप्रिय

काठमाडौँ, असोज ४ गते ।

 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको  कार्यक्रमको प्रशंसा गर्नुभएको छ। 

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकिकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेतले केन्द्रीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरे जस्तै विपन्न र गरिबको सहज स्वास्थ्य उपचारका क्षेत्रमा गरिरहेका काम प्रशंसनीय रहेको बताउनुभयो। 

मन्त्री बस्नेतले भन्नुभयो, ‘‘केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफ्ना सबै अस्पताल र प्रतिष्ठानमा जनरल बेड नि: शुल्क गर्ने निर्णय गरेपछि बागमती प्रदेशलाई पनि विपन्नका लागि प्रदेश मातहतका अस्पतालका बेड निःशुल्क गर्न सल्लाह दिएको  र बागमती प्रदेशका स्वास्थ्य मन्त्रीज्यूले निर्णय गरेर साथ दिनुभयो।”

केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पताल र प्रतिष्ठानका तीन हजार पाँच सय ६५ जनरल बेड निःशुल्क गरेपछि बाग्मती प्रदेशले आफू मातहतका प्रादेशिक अस्पतालहरूका ८०० बेड निःशुल्क गरेको थियो। 

मन्त्री बस्नेतले विपन्न जनतालाई सहज उपचार उपलब्ध गराउने अभियानमा बागमती प्रदेशले क्यान्सरका बिरामीलाई केन्द्र सरकारले दिने प्रतिव्यक्ति एक लाख रुपियाँ सहुलियतमा थप ५० हजार रुपियाँ उपलब्ध गराइरहेको र  हृदयरोगका बिरामीलाई एक लाखमा थप गरेर एक लाख १० हजार उपलब्ध गराउने काम प्रशंसनीय रहेको स्वास्थ्य मन्त्री बस्नेतले बताउनुभयो । 

बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले विपन्नको उपचारका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको भए पनि व्यापक प्रचार प्रसार नहुँदाले जनमानसमा पुग्न नसकेको बताउँदै हरेक अस्पतालले प्रदान गर्ने सेवा र सुविधाका बारेमा सूचनापाटीमा लेखेर सबैलाई जानकारी गराउनु पर्नेमा जोड दिनुभयो। 

केन्द्रीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लयमा आफू चल्न तयार रहेको बताउँदै प्रदेश स्वास्थ्य मन्त्री जोशीले विपन्नको पहिचान गर्दा स्वघोषणालाई आधार बनाउनुपर्ने सुझाव दिनुभयो।  

सो अवसरमा बागमती प्रदेशले नेपाल रेडक्रससँग निः शुल्क रगत उपलब्ध गराउने र  शहीद गङ्गालाल हृदयरोग प्रतिष्ठानसँग मुटु रोगको उपचार उपलब्ध गराउन, भक्तपुर क्यान्सर अस्पतालसँग क्यान्सर रोगको उपचार उपलब्ध गराउने सम्बन्धी सम्झौता आदान प्रदान गरेको छ। 

बागमती प्रदेशको चिकित्सा शाखा प्रमुख डा. खगेश्वर गेलालले बाग्मती प्रदेशले सीमान्तकृत विपन्न जनताका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम र महिला स्वास्थ्य स्वयं सेविकाका लागि स्वास्थ्य बिमामा ५० प्रतिशत सहुलियत दिने कार्यक्रम पनि सुरु गरेको जानकारी दिनुभयो।  

ताजा समाचार

Related Articles