मकवानपुरमा चुनावी सरगर्मी बढ्दो

लोकप्रिय

हेटौँडा, फागुन ९ गते । प्रतिनिधिसभा निर्वाचन हुन अब १३ दिन मात्र बाँकी रहँदा मकवानपुर जिल्लामा चुनावी माहोल तातेको छ। राजनीतिक दलहरूले प्रचार–प्रसारलाई तीव्र बनाएका छन् भने निर्वाचन आयोगले निर्वाचन तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ। आयोगले तोकेको फागुन ४ देखि १८ गतेसम्मको १५ दिने प्रचार अवधिलाई अधिकतम उपयोग गर्ने रणनीतिमा दल तथा उम्मेदवार देखिएका छन्। आचारसंहिताले जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार–प्रसार गर्न छुट दिएको कारण पनि चुनावी गतिविधि झनै सक्रिय बनेका हुन्।

जिल्लाभर विभिन्न दल तथा सङ्गठनका कार्यकर्ता कोही घरदैलो, कोही वृत्त तथा आमसभामार्फत मतदातासँग आशीर्वाद माग्दै, त कोही युवाहरूलाई लक्षित गर्दै आफ्नो अभियान तीव्र बनाइरहेका छन्। मतदान मिति नजिकिँदै जाँदा सरकारले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्लामा सुरक्षा व्यवस्था कडा बनाएको छ। मकवानपुर जिल्लामा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लाभर कुल ४४ जना उम्मेदवार मैदानमा छन्। क्षेत्र नम्बर १ बाट विभिन्न दलका १३ जना र १० जना स्वतन्त्र उम्मेदवार छन् भने क्षेत्र नम्बर २ बाट विभिन्न दलका १६ जना र ५ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

क्षेत्र नम्बर-१ मा हेटौंडा उपमहानगरपालिकाका वडा न- २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५, १६, १७ र १८ (१५ वडा), मकवानपुरगढी गाउँपालिकाका ४ वडा तथा बागमती गाउँपालिका र बकैया गाउँपालिकाका सम्पूर्ण क्षेत्र समेटिएका छन्। त्यस्तै क्षेत्र नम्बर-२मा हेटौंडा उपमहानगरपालिकाका वडा न-१, ३, ११ र १९, मकवानपुरगढी गाउँपालिकाका वडा न- ५, ६, ७ र ८ सहित थाहा नगरपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिका पर्दछन्। मकवानपुर जिल्लाका क्षेत्र नम्बर -१ मा १ लाख ५८ हजार ४ शय ३५ र क्षेत्र नम्बर-२मा १ लाख ५६ हजार ८ शय ९९ गरी कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्।

लैंगिक आधारमा हेर्दा महिला मतदाता १ लाख ५३ हजार ३७६, पुरुष मतदाता १ लाख ६१ हजार ९५३ र अन्य ५ जना रहेका छन्। १०२ वडा रहेको मकवानपुरमा क्षेत्र नम्बर-१ मा ४० वडा, ६२ मतदान स्थल र १७८ मतदान केन्द्र र क्षेत्र नम्बर-२ मा ६२ वडा, १०५ मतदान स्थल र १९६ मतदान केन्द्र रहेका छन्। निर्वाचन नजिकिँदै जाँदा मकवानपुरमा राजनीतिक गतिविधि अझै तीव्र बन्दै गएको छ भने मतदाताहरू पनि आ–आफ्नो रोजाइ तय गर्ने अन्तिम चरणमा पुगेका छन्।

ताजा समाचार

Related Articles