एक हजार २१३ उम्मेदवारले छुट्टै बैङ्क खाता सञ्चालनमा ल्याए

लोकप्रिय

काठमाडौँ, फागुन १२ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै अहिलेसम्म एक हजार दुई सय १३ उम्मेदवार र नौ राजनीतिक दलले निर्वाचन खर्च व्यवस्थापनका लागि छुट्टै बैङ्क खाता सञ्चालनमा ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म खाता खोल्ने दलहरूमा नेपाली काँग्रेस,राष्ट्रिय जनमोर्चा पार्टी,नेकपा संयुक्त,नेपाली कम्युनिस्ट पार्टी,नेपालका लागि नेपाली पार्टी ,जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी ,मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका आयोगका सहायक प्रवक्ता कुल बहादुर जिसीले जानकारी दिनुभयो । निर्वाचन आयोगले उम्मेदवारहरूलाई निर्वाचन अवधिभरको सम्पूर्ण आर्थिक कारोबार पारदर्शी बनाउन अनिवार्य रूपमा अलग्गै बैङ्क खाता खोल्न निर्देशन दिएको थियो ।

निर्वाचन प्रयोजनकालागि छुट्टै खाता सञ्चालन सम्बन्धी व्यवस्था अनिवार्य भएको र अटेरी गरे कारबाहीको भागी हुनुपर्ने आयोगको भनाई छ । निर्वाचन खर्च पारदर्शिता र आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि आयोगले बैङ्क खाता अनिवार्य गरेसँगै निर्वाचन गतिविधि थप व्यवस्थित र निगरानीयोग्य हुने सहायक प्रवक्ता जिसी ले बताउनुभयो । फागुन २१ गते हुने निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ कूल ६१ वटा निर्वाचन चिन्हमा ६५ राजनीतिक दलले भाग लिएका छन् भने समानुपातिक निर्वाचन प्रणाली तर्फ कूल ५७ वटा निर्वाचन चिन्हमा ६३ राजनीतिक दलले भाग लिएका छन् ।

ताजा समाचार

Related Articles