खासकुरा संवाददाता
हेटौँडा, फागुन १२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै नेपाली कांग्रेस मकवानपुरका घर फर्क अभियान तीव्र बनेको छ ।
विगतमा कांग्रेसमा रहेर लामो योगदान गरेकाहरु विभिन्न दलमा आवद्ध हुँदै आएकोमा पुनः कांग्रेसमा फर्कने क्रम तीव्र बनेको हो ।
पूर्वी मकवानपुरको फापरबारी क्षेत्रलाई राजनीतिक कर्मक्षेत्र बनाएर क्रियाशील भीमप्रसाद घिमिरे कांग्रेसमा फर्कनुभएको छ । 
बागमती गाउँपालिका ८ मा मंगलबार आयोजित कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले घिमिरेलाई स्वागत गर्नुभएको थियो ।
बागमती गाउँपालिका ६ का घिमिरे नेपाली कम्युनिष्ट पार्टी बागमती गाउँ समितिका सल्लाहकार रहनु भएका घिमिरे उक्त पार्टी परित्याग गरी कांग्रेसमा फर्कनुभएको हो । दुई वर्षअघि पूर्वी क्षेत्रका कांग्रेस नेता घिमिरे पार्टी छाडेर तत्कालीन नेकपा माओवादी केन्द्रमा आबद्ध हुनुभएको थियो ।
यस्तै बागमती ५ का अभिनाष (प्रेम) घलान नेकपा छाडेर कांग्रेसमा फर्कनुभएको छ । कार्यक्रममा नेकपाका कार्यकर्ताहरु बागमती गाउँपालिका वडा नम्बर ७ गणेश श्रेष्ठ र वडा नम्बर ९ की विमला श्रेष्ठ उक्त पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका संस्थापक सभापति भरत पराजुलीलगायतका कांग्रेसमा फर्कनुभएको थियो । २०७९ सालमा कांग्रेस छाडेर रास्वपाबाट क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएको पराजुलीले १२ हजारभन्दा बढी मत प्राप्त गर्नुभएको थियो ।
कार्यक्रममा कार्यक्रममा कांग्रेसका प्रदेश सभापति बानियाँले यो निर्वाचन जलाउने र बनाउनेबिचको भएको भन्दै नयाँ भन्नेको भ्रमलाई चिर्दै चुनावी अभियानमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
यसैबिच कांग्रेसको बागमती गाउँपालिकाको वडा नम्बर २, ४ र ८ चुनावी प्रचार र अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रदेश समितिका सदस्य भक्तबहादुर राई, कांग्रेस मकवानपुरका उपसभापति धर्मराज लामिछाने, क्षेत्र नम्बर १ का संघीय सभापति दामोदर खनाल, सचिव शङ्करकुमार पराजुली, क्षेत्र नम्बर १ (क)का सभापति सुशान्त श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । यस्तै कांग्रेसका मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले मंगलबार हेटौँडाको वडा नम्बर ५, १२ लगायतका विभिन्न वडामा घरदैलो, कार्यकर्ता भेटघाटलगायतका कार्यक्रम गर्नु भएको कांग्रेस निर्वाचन परिचालन समितिले जनाएको छ ।




