निर्वाचन आचारसंहितासम्बन्धी अभिमुखिकरण सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, फागुन १२ गते । हेटौँडामा १ दिने पत्रकारहरुका लागि निर्वाचन आचारसंहितासम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्नभएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर पत्रकारका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता पालना सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । महासंघकी केन्द्रिय उपाध्यक्ष नितु पण्डितले आचारसंहिताको पालना गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
उपाध्यक्ष पण्डितले सही समयमा सही सूचना दिने जिम्मवारी बहन गरिरहँदा प्रेस स्वतन्त्रताको पूर्ण उपयोगमा भने चुनौती रहेको बताउनुभयो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले आचारसंहिताको पालना गर्ने र गराउने सन्दर्भमा मिडियाकर्मीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । मतदान हुनुभन्दा अघि नै गरिने मत सर्वेक्षण निर्वाचन आचारसंहित विपरीत हुने भन्दै उहाँले त्यसले चुनावी वातावरणमा नकारात्मक असर पर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आचारसंहिता पालना सबैको सवाल र दायित्व हो भन्नुभयो ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न मिडियाकर्मीसँग सहकार्य गरिने उहाँको भनाई छ ।
कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकारी हरि प्रसाद ढकालले निर्वाचन आचारसंहितामा भएका व्यवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय लेखा आयोग सदस्य केसी लामिछाने, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायतले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles