काठमाडौँ, फागुन १४ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा चार दलबिच मुख्य प्रतिस्पर्धा हुने बताउनुभएको छ । बिहीबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा निर्वाचन सम्बन्धी समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “चार वटा पक्षका बिचमा प्रतिस्पर्धा हुन्छ । नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी । यी चार वटा पक्ष भनौं वा धारा भनौं यिनिहरुबिचको प्रतिस्पर्धा मुख्य प्रतिस्पर्धा हुन्छ । कसैको बहुमत आउने स्थिति देखिएको छैन, हामीले कम्तिमा चाहिँ देखेका छैनौं । बाँकी एक हप्तामा राम्रोसँग जाँदा हामी अगाडि जाने सम्भावना पनि छ ।”

उहाँले पार्टीभित्र आन्तरिक समस्या नभएका कारण निर्वाचनमा नेकपाको स्थिति राम्रो हुने आङ्कलन गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली कम्युनिस्ट पार्टी मात्रै त्यस्तो पार्टी जोभित्र समस्या छैन । सबै एकजुट भएर लागेका छन् । एकाध चामलको बियाँ जस्तै त्यो पनि त्यस्तो गम्भीर प्रकृतिको हामीले देखेका छैनौं । त्यसकारण, हाम्रो चाहना छ, हामीले जित्दा मात्रै राष्ट्रियता र स्वाधिनता, जनताको आत्मनिर्णयको अधिकार, लोकतन्त्र र गणतन्त्रका मान्यता स्थापित मात्रै होइन कार्यान्वयन गर्नेतिर संविधान संशोधनमा परिमार्जन गर्ने कुरा सहज हुन्छ ।”

उहाँले नेकपाले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग समीकरण नगर्ने र आफ्नै एजेण्डाको बलमा निर्वाचनमा जाने भनाइ राख्नुभयो । “हामी यो पटक निर्वाचनमा कुनै पनि राजनीतिक दल अन्यसँग समीकरण गर्दैनौं । हामी हाम्रै एजेण्डाको बलमा, हाम्रै पार्टी र जनताको बलमा निर्वाचनमा जान्छौं भनेर पहिलो दिनदेखि भन्दै आएका छौं । तर, बेला–बेलामा मिडियामा समीकरण बन्ने भयो रे भन्ने खालको चर्चाहरु पनि आउने गरेका छन् । हामीले त्यसको लगातार खण्डन गरेका छौं”, उहाँले भन्नुभयो, “हामी यो पटक न २३ गतेको निम्ति जिम्मेवार दलसँग समीकरण गर्ने पक्षमा छौं, मैले अघि भनेजस्तै एउटा प्रवृत्ति अतिवादसँग । न हामी २४ गनेको विध्वंश गर्नेसँग समीकरण गर्ने पक्षमा छौं । मैले भनेको जस्तो हामी राष्ट्र र जनताको पक्षमा दृढतापूर्वक अगाडि बढ्न चाहन्छौं भन्दै आएका छौं ।”




