हेटौँडा, फागुन १५ गते । नेकपा एमालेका मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार रामेश्वर रानाले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै रानाले उहाँले निर्वाचनबाट नयाँ जनादेश लिएर मुलुकमा देखिएको दण्डहिनताको अवस्था अन्त्य एमालेले गर्ने बताउनुभएको छ ।

वैदेशिक हस्तक्षेप अन्त्य गर्ने र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने, लोकतन्त्रको सुदृढीकरण गर्दै समाजवाद तर्फ उन्मुख हुने, पूर्ण सुरक्षाको ग्यारेन्टी गर्ने भन्दै राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षाको निम्ति आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो । रगतसँग साटेर ल्याएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी एमालेको हे उहाँले प्रतिबद्धतापत्रमा भन्नुभएको छ, जेनजी आन्दोलनपछि अभिभावक बिहिन देखिएको मुलुकलाई संवैधानिक बाटोमा लैजान, राजकीय कानुनी प्रबन्ध गर्नु आफनो प्राथमिकतामा रहेको छ ।

उहाँले निर्वाचनबाट नयाँ जनादेश लिएर मुलुकमा देखिएको दण्डहिनताको अवस्था अन्त्य एमालेले गर्ने भन्दै जनताको हक सुरक्षित नगरी हेटौंडाको सडक विस्तार गर्न नहुने स्पष्ट पार्नुभएको छ । प्रतिबद्धता पत्रमा रानाले एमालेले सपना मात्र देखाउने नभई व्यवहारमा पनि काम गरेर देखाएको उल्लेख गर्नुभएको छ । उहाँले नेपालको भुमिलाई कसैले राजनीतिक खेलमैदान बनाउन पाइँदैन भन्ने मान्यता एमालेको रहेको बताउनुभयो ।
क्षेत्र नम्बर १ बाट १३ राजनीतिक दलका उम्मेदवार र १० जना स्वतन्त्र गरी कुल २३ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४३५ मतदाता रहेका छन् ।




