हेटौँडा, फागुन १८ गते । आसन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम दिन सोमबार फागूपूर्णि पर्वमा दिन राजनीतिक दल र उम्मेदवारहरुले होली खेल्दै मत मागेका छन् ।
निर्वाचनकै कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले विगतमा जस्तो सार्वजनिक रुपमा भने होली पर्व मनाउन कडाइ गरेको थियो ।
यसअघि प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसार गर्ने एक दिन बाँकी हुँदा आइतबार राजनीति दल र उम्मेदवारहरुले शक्ति प्रर्दशन गरेका थिए ।
राजनीति दल र उम्मेदवार आइतबार जिल्लाको विभिन्न स्थानमा मोटरसाइकल ¥याली, माइकिङ, ठुलो सङ्ख्यामा कार्यकर्ता र शुभेच्छुकसहित घरदैलौ गरेका हुन् ।

निर्वाचनमा सहभागी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टीलगायतका दलहरुले ठुलो सङ्ख्यामा कार्यकर्ता र शुभेच्छुक उतारेर गाउँबस्तीमा उम्मेदवारसहित ¥याली गरेका छन् ।
विगतमा चुनावी प्रचार प्रसारको अन्तिम दिनहरुका ठुला सभा गर्ने दलहरुमध्ये केही दलहरु आइतबार कोणसभामा सीमित बनेका थिए ।
सोमबार राति १२ बजेसम्म निर्वाचन आयोगले प्रचार प्रसारको सीमा निर्धारण गरेको छ । तर यस जिल्लामा सोमबार फागूपूर्णिमा पर्व (होली) मनाइने भएकोले पनि एक दिनअघि नै चुनावी प्रचारप्रसारका क्रममा शक्ति प्रदर्शनशैलीमा नगर र गाउँका विभिन्न वडाहरुमा मोटरसाइकल ¥यालीसहित प्रर्दशनी गरिएको थियो ।

नेपाली कांग्रेसका क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिना, क्षेत्र नम्बर २ का बुद्ध लामा, नेकपा एमालेका क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर राना, क्षेत्र नम्बर २ का उम्मेदवार महेश बर्तौला र नेकपाका क्षेत्र नम्बर १ का उम्मेदवार विजय गौतम, क्षेत्र नम्बर २ का उम्मेदवार लवशेर विष्ट घरदैलोलगायतका कार्यक्रममा सहभागी हुनुभयो । यस्तै रास्वपाका क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाश गौतम, क्षेत्र नम्बर २ का उम्मेदवार प्रशान्त उप्रेति, राप्रपाका क्षेत्र नम्बर १ का उम्मेदवार दीपकबहादुर सिंह, क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर थोकर तथा उज्यालो नेपाल पार्टीका क्षेत्र नम्बर १ का उम्मेदवार सुरेन्द्र लामा र क्षेत्र नम्बर २ का उम्मेदवार प्रविनकुमार स्याङ्तान निर्वाचन प्रचार प्रसारको लागि एक दिन बाँकी हुँदा चुनावी प्रचारमा व्यस्त बन्नुभयो ।
साथै श्रम संस्कृति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेकपा –माओवादी), जसपा नेपाललगायतका पार्टीका उम्मेदवार र कार्यकर्ताहरुले घरदैलौ गर्दै मत मागेका थिए ।
सोमबार जिल्ला सुरक्षा समिति मकवानपुरले दल वा उम्मेदवारको पक्षमा नाराबाजी गर्न तथा संस्थालाई होली पर्वका नाममा कार्यक्रम गर्न रोक लगाएको छ ।




