मकवानपुर, फागुन १८ गते । विगतका आमनिर्वाचनमा राजनीतिक दल र उम्मेदवारका ठुला सभा र कोण सभा हुन्थ्यो । तडक भडकका साथ माइकिङ र प्रचारप्रसार गर्दै भव्य मञ्च बनाएर दलका शीर्ष नेतालाई बोलाएर मत आफ्नो पक्षमा पार्न भाषण गर्न लगाइन्थ्यो ।
उम्मेदवार र स्थानीय नेताहरु पनि चुनावी प्रचारप्रसारका क्रममा भोट माग्दै कोण सभा गर्दै जनमत आफ्नो पक्षमा ल्याउन दर्जनौ सभा गर्ने गरेको पाइन्थ्यो ।
तर यसपटकको चुनावमा प्रचारप्रसारका क्रममा राजनीतिक दल र उम्मेदवारका ठुला सभा र कोण सभा प्राथमिकतामा परेनन् ।

राजनीतिक दल र मकवानपुरको दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरु सोमबार पनि घरदैलौ र सामुहिक भेटघाटमा कार्यकर्ता पुगेका छन् ।
श्रम संस्कृति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर बाहेकका अन्य दलले निर्वाचन आयोगले खुला रुपमा चुनावी प्रचार गर्न दिएको अवधिमा शीर्ष नेताको उपस्थितिमा ठुला सभा गरेका छैनन् ।
फागुन ३ गतेसम्म निर्वाचनको आन्तरिक तयारीका क्रममा पार्टीको बैठक, अगुवा कार्यकर्ता भेला र शुभेच्छुक एवं समर्थकसँगको भेटघाट गरेका दल र उम्मेदवारहरु त्यसपछिका दिनमा चुनावी प्रचारका क्रममा घरदैलो र भेटघाटमा व्यस्त भएका हुन् ।
यो पटकको निर्वाचनमा शीर्ष नेताहरु आफै नै आफ्नो निर्वाचन क्षेत्रमा बढी समय दिएकाले पनि शीर्ष नेताको उपस्थितिमा ठुला सभा आयोजना हुन नसकेको हो ।
निर्वाचन क्षेत्र नम्बर १ मा पाँच महिलासहित २३ र क्षेत्र नम्बर २ मा दुई महिलासहित २१ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
नेपाली कांग्रेसका क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिना कार्यकर्ता र शुभेच्छुकसहित घरदैलोमा पुगेर मत माग्नुभयो ।
कांग्रेस उम्मेदवार उपाध्यायले लामा भाषणभन्दा भेटघाट गरी मतदाताका अपेक्षा सुन्ने र आफ्ना योजना सुनाउनु प्रभावकारी हुने भएकोले ठुला सभाभन्दा घरदैलो र भेटघाटलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले भन्नुभयो, समाजमा एकअर्काप्रति भ्रम र घृणा फैलाउने काम भएको छ मतदातासँग मत माग्ने, मन जोड्ने र मन माझ्ने अभियानमा रहेकोले घरदैलो र सामुहिक भेटघाटलाई प्राथमिकतामा राखेको हुँ ।
निर्वाचन प्रचारप्रसारको अन्तिम दिन आइसक्दा पनि राजनीतिक दल र दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरु घरदैलोमा नै व्यस्त बनेका छन् ।

यस्तै नेकपा एमालेका क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर रानाले पनि चुनाव प्रचार प्रसारको माध्यम घरदैलो नै रोज्नुभएको छ । विगतमा ठुल्ठुला सभा गर्दै आएको एमाले केही स्थानमा कोण सभा बाहेक मतदातासमक्ष पुग्ने माध्यम घरदैलो र सामुहिक भेटघाटलाई बनाउनुभएको हो । एमाले प्रचार प्रसार समितिका संयोजक नवीन सिग्देलले यसपटकको निर्वाचनमा आमसभाको कार्यक्रम नरहेको जानकारी दिनुभयो ।
उहाँले उम्मेदवारसहित घरैदैलो र कार्यकर्ता परिचालन गरी मत माग्दै आएको बताउनुभयो ।
यस्तै विजय गौतमलाई उम्मेदवार बनाएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रेमबहादुर पुलामीले यो पटक प्रचार प्रसारको क्रममा आमसभा आयोजना नगरिएको बताउनुभयो ।
उम्मेदवारसहित घरदैलौ र सामुहिक भेटघाट गरेर मतदातासमक्ष गएका छौ उहाँले भन्नुभयो ।
उता दीपकबहादुर सिंहलाई उम्मेदवार बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि यो पटक निर्वाचनका क्रममा आमसभाको आयोजना गरेन ।
राप्रपा क्षेत्र नम्बर १ का अध्यक्ष उमेश थापाले आमसभा नगर्ने र घरदैलो मात्र गर्ने गरी प्रचारप्रसारको कार्यक्रम तय भएको बताउनुभयो ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश गौतमले पनि आफ्नो क्षेत्रको विभिन्न वडामा घरदैलो गर्नुभयो ।
उज्यालो नेपाल पार्टीले पनि घरदैलो गर्दै मतदातासमक्ष पुगेर मत माग्दै आएको छ ।
उता श्रम संस्कृति पार्टी मकवानपुरले घरदैलोसहित सोमबार हेटौँडामा आमसभा गरेको छ ।
मतदाताका उम्मेदवार र दलप्रतिको गुनासा र सुझाव सुन्न र आफूलाई ग्रहण गरेर परिष्कृत गर्न पाइन्छ भन्ने निस्कर्षसहित दल र उम्मेदवारले यो पटक प्रत्यक्ष भेटघाट र घरदैलौको चुनावी प्रचारको शैलीलाई प्राथमिकतामा राखेको पाइन्छ ।




