कैलाशमा बिपी आधारभूत अस्पताल उद्घाटन

लोकप्रिय

हेटौँडा, फागुन २७ गते । मकवानपुरको कैलाश गाउँपालिकामा नवनिर्मित बिपी स्मृति कैलाश आधारभूत अस्पतालको उद्घाटन गरिएको छ ।
संघीय सरकारको छ करोड ५८ लाख ९९ हजार १७६ रुपियाँ सहयोगमा निर्माण गरिएको अस्पतालको बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले बुधबार उद्घाटन गर्नुभएको हो ।
अढाई तल्ले अस्पताल भवनमा १० शय्या रहेको छ ।
गाउँपालिकाको नवौँ स्थापना दिवसको समेत अवसरमा आयोजित उक्त कार्यक्रम मुख्यमन्त्री बानियाँले गाउँमै अस्पताल बनेर सेवा प्रवाह गर्नुनै लोकतन्त्रको उपलब्धीको सूचक भएको बताउनुभयो ।
उहाँले गाउँपालिकाको भवन समेत बनेको, सिंहदरबारको अधिकार गाउँगाउँमा आएको अवस्थामा गाउँकै अस्पतालमा रगत, दिशा पिसाब जाँच गर्ने, आँखा, हाडजोर्नी, जनरल उपचार गर्न कैलाशबासीहरुमा सहज भएको बताउनुभयो ।
लोकतन्त्र भ्रमको व्यवस्था होइन उहाँले भन्नुभयो, लोकतन्त्र सत्य र यथार्थको व्यवस्था हो, जनतालाई सत्य र यर्थाथको बीचमा जनप्रतिनिधिहरुले आफ्नो कुरा गर्दै जनताको कुरा सुन्दै काम गरिन्छ । उहाँले भौगोलिक विकटताले दुर्गम रहेको कैलाश गाउँपालिका विस्तारै सडक सञ्जाल विस्तार, शिक्षा र स्वास्थ्यमा सुधार, सेवा सुविधाले विस्तारै अघि बढिरहेको अवस्था रहेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले गाउँमै सञ्चालित अस्पतालबाटै सेवा लिन आग्रह गर्नुभयो ।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले नेपालको संघीय शासन प्रणाली कार्यान्वयनसँगै स्थापित स्थानीय सरकारको महत्वपूर्ण आधारस्तम्भको रुपमा गाउँपालिका रहेको बताउनुभयो । उहाँले स्थानीय सरकार भए पश्चात भएका विकास र उपलब्धीहरुको समीक्षा गर्नु, हामीप्रति जनताको विश्वास अझ बलियो बनाउनु, गाउँपालिकाको विगत, वर्तमान र भविष्यको यात्राको समीक्षा गर्नुनै यस दिवस कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।
त्यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले अस्पतालन सञ्चालनको लागि कार्यालयको तर्फबाट आवश्यक समन्वय र सहकार्य गरि अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकरी, वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्णसारु मगर, नेकपाका कमल अर्याललगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

 

ताजा समाचार

Related Articles