प्रतिनिधि सभा निर्वाचनको समीक्षा सम्पन्न

लोकप्रिय

हेटौँडा, फागुन २७ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन जोड दिइएको छ ।
प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौँडाले बुधबार हेटौँडामा आयोजना गरेको निर्वाचन समिक्षा तथा धन्यवाद कार्यक्रममा आमनिर्वाचनमा मतदानमा वृद्धि गर्न मतदाता शिक्षामा जोड दिन आग्रह गरिएको हो ।
कार्यक्रमका सहभागीहरुले मतदाता शिक्षामा आयोगको लगानीको बढाउन राजनीतिक दल, उम्मेदवार र सरोकारवालाहरुले सुझाव दिएका थिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले राजनीतिक दल र उम्मेदवारहरुको सकारात्मक सहयोगमा आचारसंहिता पालनासहित सहज र सौहाद्रपूर्ण वातावरण निर्वाचन सम्पन्नभएको बताउनुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले निर्वाचनमा सुक्ष्म रुपमा सुररक्षा अवस्थाको विश्लेषण गरी योजना बनाइएकोले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताउनुभयो ।
निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले राजनीतिक दल र उम्मेदवारको विश्वास र समन्वयमा निर्वाचन सफल भएको बताउनुभयो ।
प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जिल्लाको मतदाता, मतदानको अवस्था, बदर मत, बदर हुनुको कारण, मतदाता शिक्षालगायतका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ मकवानपुरको कूल मतदाता तीन लाख १५ हजार ३३४ मध्ये एक लाख ८६ हजार ९६९ मत खसेकोमा एक लाख ७६ हजार ३४४ सदर मत र १० हजार ६१५ अर्थात् ५ दशमलव ६८ प्रतिशत बदर भएको छ । यस्तै समानुपातिकतर्फ मकवानपुरको कूल मतदाता तीन लाख १८ हजार ६४१ मध्ये एक लाख ८८ हजार २६६ मत खसेकोमा एक लाख ८० हजार ८०९ सदर मत र सात हजार ४५७ अर्थात् ३ दशमलव ९६ प्रतिशत बदर भएको थियो । दुई वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचनमा १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र रहेका थिए ।

 

ताजा समाचार

Related Articles