हेटौँडा, फागुन २९ गते । हेटौँडा–नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा  ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्युभएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ गइरहेको ट्रक एकापसमा ठोक्किँदा सर्लाही जिल्ला बरहथवा नगरपालिका १५ पिपराभिट्टा घर भई हाल वीरञ्गज महानगरपालिका २ छपकैया बस्दै आएका कन्टेनर चालक गोविन्द चौधरीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ९९२३ नम्बरको टेलर गाडी (कन्टेनर) र चितवनबाट वीरगञ्जतर्फ जान आउँदै गरेको बा.प्र. ०३–००१ ख ०३९८ नम्बरको खाली ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

कन्टेनर चालक ३८ वर्षीय चौधरी स्टेरिङमा च्यापिएको अवस्थामा रहेकोले स्थानीयको सहयोगमा दुर्घटनास्थलबाट उद्धार गरी उपचारको लागी सिएमसी चुरेहिल अस्पताल हेटौँडा पठाएकोमा अस्पतालले मृत घोषणा गरेको बोगटीले बताउनुभयो ।
ट्रक चालक चितवनको खैरेनी नगरपालिका ९ का ४२ वर्षीय धनेश्वर चौधरी सकुशल रहेको र निजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।