काठमाडौँ, चैत ५ गते । प्रतिनिधि सभामा समानुपातिकबाट १६ जना दलितको प्रतिनिधित्व भएको छ । प्रत्यक्षमा निर्वाचित एकसहित अब संसद्मा १७ जना अर्थात् ६.१८ प्रतिशत दलित निर्वाचित भएका छन् ।
विभिन्न पाँच दलबाट समानुपातिकमा १६ जना निर्वाचित भएका हुन् । प्रतिनिधि सभा २०७९ मा १६ जनाको प्रतिनिधित्व भएको थियो । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकको ५७ सिटमा आठ जना दलितलाई प्रतिनिधित्व गराएको छ । आठ जनामा सात जना दलित महिला छन् ।

नेपाली कांग्रेसले समानुपातिकमा पाएको २० सिटमा तीन जना दलितलाई सांसद बनाएको छ । तिनै जना दलित महिला र विश्वकर्मा जातिबाट हुनुहुन्छ । डडेलधुराकी हरिनादेवी कामी, मकवानपुरकी पवित्रा विक र झापाकी मनमाया विक पनि पहिलो पटक सांसद हुनुभएको हो । नेकपा (एमाले) ले दुई जना दलित महिलालाई प्रतिनिधित्व गराएको छ । तेह्रथुमकी विष्णुमाया विक र झापाकी निता घतानी एमालेबाट पहिलो पटक सांसद हुनुभएको छ । नेपाली कम्युनिस्ट पार्टीबाट दुई जना दलित सांसद हुनुभएको छ । बझाङका गणेशबहादुर विश्वकर्मा र जाजरकोटकी पार्वती विक पनि पहिलो पटक सांसद बन्नुभएको छ ।

त्यस्तै नयाँ दल श्रम संस्कृति पार्टीले समानुपातिकमा ल्याएको चार सिटमा एक जना दलितलाई प्रतिनिधित्व गराएको छ । यो पार्टीबाट सुर्खेतकी राधिका रम्तेल सांसद हुनुभयो तर समानुपातिकमा चार सिट ल्याएको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने यस पटक दलितको प्रतिनिधित्व गराएको छैन ।




