काठमाडौँ, चैत ५ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराएको बताउनुभएको छ । आयोगले आज केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजना गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचनको अघिल्लो दिन फागुन २० गते आयोगको मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा पनि अझै निर्वाचन हुन्छ र भन्ने प्रश्नको सामना गरेको स्मरण गर्नुभयो ।

निर्वाचन हुनैपर्छ भन्ने आयोगको अठोटका कारण नै निर्वाचन गर्न सम्भव भएको र यसका लागि सबै राजनीतिक दल, नागरिक समाज एवं प्रबुद्ध व्यक्तित्वबाट सहयोग प्राप्त भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनुभयो । “विदेशमा बस्ने नेपालीले मतदान गर्न पाउनुपर्छ, मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर रहेकाले मतदान गर्न पाउनुपर्छ जस्ता मागका बिच निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योल थियो, अध्यादेशबाट मतदाता नामावली सङ्कलन गरेर करिब १० लाख युवा मतदाता थप भए, युवा मतदाताले पनि यस पटक उत्साहपूर्ण रूपमा मतदान गरे,” उहाँले भन्नुभयो । निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका उम्मेदवारले पनि नआत्तीकन र नमात्तीकन भाग लिएकाले पनि निर्वाचन सम्पन्न हुन सकेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनुभयो ।

आयोगका सहसचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले ५७ चिह्नमा ६३ दलले यस पटकको समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिएकामा छ दल सांसद निर्वाचित गराउन सफल भएको जानकारी गराउनुभएको थियो । समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी, नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्सवादी लेनिवादी)बाट १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार, चार जना सांसद निर्वाचित भएको आयोगले चैत २ गते सोमबार नै घोषणा गरिसकेको थियो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ रास्वपा १२५, कांग्रेस १८, एमाले नौ, नेकपा आठ, श्रम संस्कृति पार्टी तीन, राप्रपा र स्वतन्त्र एक, एक स्थानमा निर्वाचित भएका छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी प्रतिनिधिसभामा कुल २७५ जना सांसद निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।




