झण्डै ७१ लाख रुपियाँ बराबरको चिनियाँ चुरोटसहित चार जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत ७ गते । अवैध रुपमा ल्याइएको झण्डै ७१ लाख रुपियाँ बराबरको चिनियाँ चुरोटसहित चार जनालाई रसुवा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बागमती प्रदेश ०१००२ झ ७४२६ नम्बरको एम्बुलेन्समा ल्याइएको तीन हजार ९४० बट्टा चिनियाँ चुरोटसहित चार जनालाई गएराति पासाङ ल्हामु राजमार्ग अन्तर्गत रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ५ बेत्रावतीस्थित सडकखण्डबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

पक्राउ पर्नेमा रसुवा आमाछोदिङमो गाउँपालिका वडा न. ३ घर भएको एम्बुलेन्स चालक ४३ वर्षीय दावा नुर्पु तामाङ, वडा नं. ५ का २७ वर्षीय मार्कुस तामाङ, ३२ वर्षीय सुशील तामाङ र ३६ वर्षीया सुनिता तामाङ रहेका छन् ।
अवैध रुपमा चिनिया चुरोट ओसार पसार हुँदै छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी बेत्रावती रसुवाबाट खटिएको प्रहरी टोलीले रसुवा आमाछोदिङमो गाउँपालिका वडा नं. ३ गत्लाङ स्वास्थ्य चौकीको एम्बुलेन्स चालक दावाले चलाई ल्याएको एम्बुलेन्समा खानतलासी गर्दा एम्बुलेन्सको अगाडि र पछाडिको भागमा लुकाई ल्याएको अवस्थामा उक्त चुरोट फेला परेको थियो ।

७० लाख ९२ हजार रुपियाँ बराबरको हर्मोनाइजेसन लेखिएको चिनियाँ चुरोट र एम्बुलेन्ससहित चारलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता रमेश रायले बताउनुभयो ।

ताजा समाचार

Related Articles