हेटौँडा, चैत २१ गते । मकवानपुरको विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु र पाँच जना घाइतेभएका छन् ।
मदनभण्डारी लोकमार्ग अन्तर्गत बागमती गाउँपालिका ८ स्थित न्युरेनीमा मोटरसाइकलले ठक्कर दिँदा स्थानीय कृष्ण बहादुर विकको शुक्रबार मृत्युभएको हो ।
फापरबारीबाट हात्तीसुडेतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले पैदल यात्री ३८ वर्षीय विकलाई शुक्रबार ठक्कर दिई गम्भीर घाईते बनाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट प्रहरी नायव निरीक्षक राजेन्द्रबहादुर कुमालको नेतृत्वमा प्रहरी टोली पुग्नु पुग्नु अगावै आफन्तले उपचारको लागी हेटौँडा अस्पताल पठाएकोमा अस्पतालमा डाक्टरले जाँच गर्दा मृत्यु घोषणा गरेका थिए ।
दुर्घटनास्थलमा मोटरसाइकलको टुटेफुटेको स–साना टुक्राहरु फेला परेकोले फरार मोटरसाइकल र चालकको खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका १२ स्थित टिष्टुङ सडक खण्डमा शनिबार बिहान काठमाडौँबाट आउँदै गरेको बा.प्र.०३–००१ ख १७५० नं.को खाली १२ चक्के ट्रकको अगाडिको दाहिने साईडको पट्टा भाँचिन गई सडकमा पल्टी दुर्घटना हुँदा ट्रक चालक घाइते भएका छन् ।
धादिङ बेनिघाटरोराङ गापा २ मौवाखोलका २७ वर्षीय धु्रव घले ट्रकबाट हाम फाल्दा दाहिने खुट्टाको पैतालामा चोट लागेको र उपचारको लागी पालुङ अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ट्रक घटनास्थलमा नै रहेको र अवरुद्ध भएको सडक खुलाउने पहल भईरहेको छ ।

यस्तै हेटौँडा ९ सिमेन्ट रोडस्थित भित्री सडक खण्डमा शनिबार वनस्पतिबाट गुम्बाचोकतर्फ आउँदै गरेको ना ६ ख ४८०८ नं.को चामल लोड ट्रकले सडकको छेउमा पार्किङ गरी राखेको ना ६ ख १३०२ नं.को खाली ट्रकको अगाडिको भागमा ठक्कर दिई दुर्घटना हँुदा दुई जना घाइतेभएका छन् ।
ना ६ ख ४८०८ नं.को ट्रकको सह–चालक हेटौँडा १२ का २७ वर्षीय बिजन थोकर ट्रकमा च्यापिएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गएको प्रहरी टोलीले दुर्घटनामा घाइते भएका ना ६ ख १३०२ नं.को ट्रकका हेटौँडा ९ सिमेन्टरोडका ३८ वर्षीय रामसुन्दर अधिकारी र ना ६ ख ४८०८ नं.को ट्रकका चालक हेटौँडा १२ का २७ वर्षीय बिष्णु नगरकोटीलाई शनिबार बिहान २ः०० बजे उपचारका लागि ल्याइ हाल हेटौँडा अस्पतालमा उपचार भईरहेको छ ।
यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी गापा ९ खरङ्गा सडक खण्डमा बा १५ च ६०३५ को स्कारपियो गाडी गएराति दुर्घटना हुँदा दुई जना घाइतेभएका छन् ।
तीव्र गतिका कारण उक्त गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी १८÷२० मिटर तल खोल्सामा खस्न गई दुर्घटना हुँदा स्कार्पियो चालक हेटौँडा १९ बस्तीपुरका ४० वर्षीय झलक बर्तौला र ३० वर्षीय बद्रि ढकाल घाइते भई दुवै जनाको उपचार सन्चो अस्पताल हेटौँडा भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।




