काठमाडौँ, चैत २३ गते । मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ तर्जुमा सम्बन्धमा सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न भएको छ।
त्यसक्रममा आगामी मनसुनका लागि तयार गरिने कार्ययोजनामा समावेश गर्नुपर्ने विषयवस्तुहरु, कार्ययोजनाको स्वरुप एवं गत वर्षको कार्ययोजना कार्यान्वयनका सिकाइ एवं असल अभ्यासहरुबारे छलफल भयो। सहभागीहरुले कार्ययोजना कार्यान्वयनयोग्य र निर्दिष्ट गरिएका लक्ष्यहरु हासिल गर्न सकिने हुनुपर्नेमा जोड दिनु भयो।
अन्तरक्रियाका क्रममा सबै सरोकारवाला निकायले विद्यमान जनशक्तिको अवस्था, पूर्वतयारी, प्रतिकार्य एवं सुरुवाती राहतका लागि आवश्यक मौज्दातको स्थिति एवं सम्पादन गर्ने क्रियाकलापहरुका बारेमा यथाशीघ्र विवरण उपलब्ध गराउने समझदारी बनेको छ।
प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टको अध्यक्षतामा भएको छलफलमा विषयगत क्षेत्र (क्लस्टर) का सरकारी निकाय तथा सहयोगी निकाय, सम्बन्धित विभागहरु, राष्ट्रसंघीय निकाय, विपद्को क्षेत्रमा क्रियाशील साझेदार संस्थाहरु एवं विज्ञहरुको सहभागिता थियो।
कार्ययोजना तयार गर्न प्राधिकरणका सहसचिव रोशनी कुमारी श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय कार्यदल गठन भएको छ।



