काठमाडौँ, वैशाख ४ गते । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाइँदै छ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने पर्वलाई आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औँसी पनि भनिन्छ । सो अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद लिने प्रचलन रहिआएको छ । आमा नभएकाले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।

दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीका दिन काठमाडौँको मातातीर्थमा मेला लाग्ने गर्छ । मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रहिआएको छ । आमा नहुने नरनारी मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को पूजा गर्छन् । आमा नभएकाले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औँसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

यस्तै भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ । घरबाट टाढा रहेकाहरू आमाको मुख हेर्नका लागि घर पुग्ने तथा घर जान नपाएकाले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्छन् । हिजोआज सामाजिक सञ्जालमा आमाको तस्बिर राखेर सम्मानभाव प्रकट गर्ने चलन बढेको छ ।




