हेटौँडा, चैत २६ गते । बागमती प्रदेशमा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रमलाई थप प्रभावकारी र परिणाममुखी बनाइनेभएको छ ।
बागमती प्रदेशमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको प्रभावकारी कार्यान्वयन, समन्वय सुदृढीकरण तथा आगामी रणनीति निर्धारणका लागि प्रदेश कार्यक्रम समन्वय समितिको बिहीबार हेटौँडामा भएकोले यस्तो निर्णय गरेको छ ।
श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशको आयोजनामा , श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा भएको बैठकमा चालु आर्थिक वर्ष २०८२।०८३ मा सञ्चालित गतिविधि तथा प्राप्त उपलब्धिहरूको समीक्षा गर्दै विभिन्न रणनीतिक निर्णयहरू गरेको छ । यस्तै बैठकले सुरक्षित आप्रवासन कार्यक्रमलाई संस्थागत रूपमा मजबुत बनाउन आवश्यक कार्यविधि तर्जुमा गर्ने तथा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन सम्बन्धमा सिफारिस गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

श्रम, रोजगार तथा यातायात मन्त्री थापाले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सुरक्षित आप्रवासन कार्यक्रमले श्रमिकलाई सही सूचना, सीप र मनोसामाजिक सहयोग उपलब्ध गराउँदै आएको भन्दै यसलाई अझ सुदृढ बनाउँदै स्थानीय तहसम्म संस्थागत रूपमा स्थापित गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रमको दिगोपना सुनिश्चित गर्न स्थानीय तहमा प्रदान गरिँदै आएको प्राविधिक सहयोगलाई क्रमशः न्यूनीकरण गर्दै लैजाने रणनीति बनाउँदै प्रदेश सुशासन केन्द्रसँग सहकार्य गरी क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकमा विगतका निर्णयहरूको कार्यान्वयन अवस्थाको मूल्याङ्कन गर्दै सुधारका लागि आवश्यक निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । साथै, बैठकले कार्यक्रम समन्वय तथा कार्यान्वयन एकाइबाट भएका निर्णयहरूलाई औपचारिक रूपमा अनुमोदन गरेको छ । बैठकमा प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, प्रदेशका विभिन्न मन्त्रत्रालयका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।




