काठमाडौँ, चैत ३० गते । नेपाल कम्युनिस्ट पार्टी एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया गरिएको छ । गत दुई सातादेखि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष ओलीको चिकित्सकको परामर्शमा शल्यक्रिया गरिएको हो । अध्यक्ष ओलीको सचिवालयले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ)अस्पतालमा ग्यास्ट्रोइन्टेस्टाइनल (जिआई) सर्जरी विभागको टोलीले ओलीको पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

विभागीय प्रमुख प्रा.डा. दिव्या सिंह शाह र डा.महेश राज सिग्देलको नेतृत्वमा चिकित्सक टोलीले पित्तथैलीको पत्थरी ‘सिम्प्टोम्याटिक कोलेलिथियासिस’ समस्याका कारण ‘ल्यापारोस्कोपिक कोलेसिस्टेक्टोमी’ शल्यक्रिया गरेको अस्पतालको भनाइ छ । शल्यक्रियापछि उहाँलाई निगरानीका लागि सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ । हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले उल्लेख गरेको छ ।




