काठमाडौँ, वैशाख ५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय सुझाव माग गरेको छ ।

मन्त्रालयले सबै जिल्ला समन्वय समिति, स्थानीय तह र सम्बन्धित निकायलाई पत्राचार गर्दै स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेरका लागि सुझाव पठाउन माग गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को विभिन्न दफामा रहेका व्यवस्था बमोजिम स्थानीय तहको सिमाना हेरफेर, गाभ्ने (मर्जर) तथा नगरपालिकाको विद्यमान वर्गीकरणमा पुनरावलोकन गर्न मन्त्रालयले प्रारम्भिक रुपमा तयार गरेको मस्यौदामा सुझाव माग गरेको हो ।

मस्यौदाका सम्बन्धमा कुनै राय वा सुझाव भए मन्त्रालयको आधिकारिक इमेल ठेगानामा उपलब्ध गराउन मन्त्रालयले सरोकारवालाहरूसंग अनुरोध समेत गरेको छ ।




