काठमाडौँ, वैशाख ८ गते । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले तीन वटा विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिएको छ । बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक र मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिएको हो ।

यस्तै बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य तथा सदस्यमा नवराज सिम्खडा र रोशन बहादुर शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल्सिनाले जानकारी दिनुभयो ।
बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ।
समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्ट तथा सदस्यहरूमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवन कुमार दाहाल रहनुहुनेछ ।




