हेटौँडा, वैशाख ६ गते । पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।
बढ्दो मानव र वन्यजन्तुको द्वन्द्वसँगै मानवीय क्षति रोक्न वन्यजन्तुको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको भरपर्नु पर्ने बाध्यता रहँदै आएकोमा वन्यजन्तु सप्ताह २०८३ अन्तर्गत पहिलो पटक वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा ल्याइएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जमा र आसपासको क्षेत्रमा जीतपुर सिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्ज हात्तीसार परिसरमा आइतबार आयोजित कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले वन्यजन्तु उद्धार केन्द्रको शुभारम्भ भएको घोषणा गर्नुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र पर्सा राष्ट्रिय निकुञ्जको सहकार्यमा वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रमा समस्याग्रस्त घाइते, तथा जोखिममा परेका वन्यजन्तुको उद्धार, उपचार र पुनस्र्थापनाका लागि आवश्यक सामाग्री र उपकरण रहेको छ ।
सो अवसरमा नगरप्रमुख पौडेलले निकुञ्ज र आसपासको क्षेत्रमा मानव र वन्यजन्तुबिच द्वन्द्वसमेत हुने गरेको भन्दै मानवीय क्षति रोक्न र द्वन्द्व न्यूनीकरणका प्रयास हुँदै आएको बताउनुभयो ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा ल्याइएसँगै अब वन्यजन्तुको उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जबाट आउने जनशक्तिमा निर्भर हुनुपर्ने बाध्यताबाट मुक्त भएको बताउनुभयो ।
उहाँले दीर्घकालीन समस्या समाधानका लागि उद्धार केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो ।
केन्द्रमा कोषसँगको सहकार्यमा बाघलगायतका आक्रामक जनावरलाई डार्ट गर्न डार्ट गन सेट, बाघलाई घेरा हाल्ने सेतो कपडा ९भित०, सर्प उद्धार गर्ने सामाग्री, क्यामरा ट्रयाप र गोही समात्न प्रयोग हुने सामाग्रीको व्यवस्था गरिएको छ । कार्यक्रममा सबुज गण आधाभारका गणपति प्रमुख सेनानी अनुप सिंह बस्नेत, जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष सुवास श्रेष्ठ, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्याल, निकुञ्जका संरक्षण अधिकृत सन्तोष भगत, अम्लेश्वर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष राजकुमार मानन्धर, पशुचिकित्सक सुवास झा, राष्ट्रिय प्रकृति संरक्षण कोषका पशुचिकित्सक अमिर सडौलालगायतको उपस्थिति रहेको थियो ।




