वीरगञ्ज, वैशाख ६ गते । त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्जको गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक खण्डलाई फराकिलो बनाउने कार्य आज बिहान ४ः३० बजेदेखि सुरुभएको छ । सर्वोच्च अदालतले सडक विस्तारको बाटो खुला गरेपछि सडक डिभिजन कार्यालय हेटौंडाले आक्रामक रूपमा विस्तार कार्य अघि बढाएको हो ।
विस्तार कार्यका लागि डिभिजन कार्यालयले गण्डक, पावरहाउस, घण्टाघर, आदर्शनगर र मितेरी पुल क्षेत्रमा एकैसाथ १३ वटा डोजर, जेसीभी र एक्साभेटरसहित ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ । सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रमा रहेका स्थायी तथा अस्थायी संरचनाहरू हटाउन डोजर चलाइएको छ । सडक बिस्तारकालागि अतिक्रमण हटाउने काम एकसाथ ५ स्थानबाट शुरु गरिएको छ ।
वीरगन्जको पावरहाउस, मुर्ली, घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु होटल चोक, वीर्ता, छपकैया, भन्सार हुँदै मितेरीपुलसम्मको मुख्य सडक २५र२५ मिटर विस्तार गर्ने काम आजै सम्पन्न हुने प्रशासनले जनाएको छ ।
यसअघि सो क्षेत्रका घरधनीले सडक विस्तारले आफूहरूको बसोबास जोखिममा परेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । लामो समयसम्म विचाराधीन रहेको उक्त मुद्दामा गत फागुन २८ गते सर्वोच्चले सडक विस्तारको पक्षमा फैसला सुनाउँदै रिट खारेज गरिदिएको थियो । अदालतको उक्त फैसलापछि लामो समयदेखि रोकिएको सडक विस्तारको कानुनी बाटो खुलेको हो ।
कानुनी बाटो खुले पनि प्रशासनले काम सुरु गर्नुभन्दा केही समय अघि मात्रै सूचना जारी गरेर १२ घण्टाभित्र संरचना खाली गर्न दिएको समय दिएको थियो । बिना पूर्वतयारी र व्यवस्थित समय नदिई डोजर चलाइएको भन्दै स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन् ।
घर भत्काउने क्रममा सो क्षेत्रको विद्युत लाइन समेत काटिएको छ, जसले गर्दा जनजीवन थप प्रभावित बनेको छ । ती क्षेत्रहरूमा कडा सुरक्षा व्यवस्थाका बिच घरमा डोजर चलाइएको थियो ।
सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथ अन्तरगत पर्ने वीरगन्जको गण्डक चोकदेखि मितेरीपुलसम्मको मुख्य सडक राष्ट्रिय राजमार्गको मापदण्ड अनरुप दायाँ र बाँया २५÷२५ मिटर चौंडा पार्ने काम शुरु गरेको डिभिजन सडक कार्यालयका प्रमुख गुरु अधिकारीले जानकारी दिनुभयो ।




