हेटौँडा, वैशाख ७ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रका सबै पक्षलाई एकजुट बनाएर आगामी अधिवेशनसम्म लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बागमती प्रदेशको निर्वाचन समीक्षाका क्रममा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले अदालतको निर्णयले हारजितको अवस्था सिर्जना नगरी आगामी यात्राको स्पष्ट बाटो तय गरिदिएको बताउनुभयो ।

उहाँले अदालतले सिर्जना गरिदिएको स्थितिलाई अवसरका रूपमा लिँदै सबैलाई एउटै बाटोमा हिँडाउने भन्दै अहिले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य भइरहेको जानकारी दिँदै महामन्त्री पौडेलले यसमा कसैलाई छनोट गर्ने वा विभेद गर्ने सुविधा नभएको स्पष्ट पार्नुभयो । उहाँले वडा सभापतिहरूलाई सदस्यता वितरण र नवीकरणको कार्य इमानदारितापूर्वक सम्पन्न गर्न आग्रह गर्नुभयो । कसैले सदस्यता माग गरेको खण्डमा कुनै पनि बहाना नगरी सदस्यता उपलब्ध गराउन र छुटेका पुराना साथीहरूलाई नवीकरणमा समेट्न उहाँले बताउनुभयो ।

महामन्त्री पौडेलले क्रियाशील सदस्यको सङ्ख्या धेरै भए पनि देशका १७ निर्वाचन क्षेत्रमा सदस्य सङ्ख्या बराबर वा सोभन्दा कम मत आएको स्मरण गराउनुभयो । विगतमा अन्य दललाई मतदान गरेका व्यक्तिहरू पनि अहिले कांग्रेसमा आउन चाहेको खण्डमा उनीहरूका लागि अनुकूल वातावरण तयार पार्न कार्यकर्तालाई उहाँको आग्रह थियो । आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै महामन्त्री पौडेलले डिजिटल प्रविधिबाट भइरहेको सदस्यता नवीकरणले नै पार्टीको जितको आधार तय गर्ने दाबी गर्नुभयो ।

विभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताले आफ्नो दायित्व पूरा नगर्ने हो भने स्थानीय चुनाव जित्न कठिन हुने उहाँको भनाइ थियो । नागरिकसँग कसरी जोडिने भन्नेबारे सङ्गठनले ठोस योजना तय गरेको उल्लेख गर्दै उहाँले आफू आबद्ध सङ्गठनलाई गतिशील बनाउन सबैलाई आह्वान गर्नुभयो । सङ्गठित संरचनाले सहयोग गरेमा मात्रै पार्टीलाई छिटो र सजिलोसँग रूपान्तरण गर्न सकिने उहाँले बताउनुभयो ।




