दाङ, वैशाख १० गते । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको हो । वैशाख १० गते बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमल ज्ञवालीले जानकारी दिनुभएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत गरिएको अनुरोधका आधारमा अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । हिउँदे अधिवेशनमा १६ वटा बैठक बसेका थिए । बिहीबार बिहान साढे ११ बजे बसेको १६ औँ बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त भएको अधिवेशन अन्त्य सम्बन्धी पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सभामा सुनाउनुभएको थियो ।




