हेटौँडा, वैशाख १६ गते । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले स्विप अप्रेसन र विचौलिया कारबाही अभियानलाई तिव्रता दिएको छ ।
प्रदेश प्रहरी कार्यालय मातहतका जिल्लामा एक सातामा स्विप अप्रेसन र विचौलिया कारबाहीमा गरी १८९ जना पक्राउ परेका छन् ।
स्विप अप्रेसन अन्तर्गत लागूऔषध विक्री वितरण गर्ने, लागूऔषध सेवन कर्ता र मादक पदार्थ खाएर होहल्ला गर्ने १६९ जनालाई पक्राउ गरिएकोमा १८ जना विरुद्ध मुद्दा दर्ता र १५१ जनालाई छानविनपछि छाडिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नान्तीराज गुरुङले जानकारी दिनुभयो ।

यस्तै प्रदेश प्रहरी कार्यालय अन्तर्गतका उपत्यका बाहेकका १० जिल्लाबाट विचौलिया कारबाहीमा २० जनालाई पक्राउ गरिएको थियो । विभिन्न सरकारी कार्यालयहरुमा सेवा प्रवाहका क्रममा आर्थिक तथा सामाजिक रुपमा असर पु¥याउने कार्य गरेको भन्दै विचौलिया कारबाहीतर्फ उनीहरुलाई पक्राउ गरिएको हो ।
यही वैशाख ६ गतेदेखि १३ गतेसम्म विचौलिया कारबाहीमा पक्राउ गरिएकामध्ये दुई जना विरुद्ध मुद्दा दर्ता र १८ जनालाई छानविनपछि छाडिएको प्रवक्ता गुरुङले बताउनुभयो ।




