चेपाङ बाहुल्य क्षेत्रलाई “चेपाङ संरक्षित क्षेत्र” घोषणा माग

लोकप्रिय

हेटौँडा, वैशाख १६ गते । नेपाल चेपाङ सङ्घले चेपाङ बाहुल्यक्षेत्रलाई “चेपाङ संरक्षित क्षेत्र” घोषणा माग गरेको छ ।
चेपाङ सङ्घले बुधबार बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउँदै चार जिल्लाका चेपाङ बाहुल्यक्षेत्रलाई समेटेर “चेपाङ संरक्षित क्षेत्र” घोषणा गर्न प्रदेश सरकारसँग माग गरेको हो ।
चेपाङ सङ्घका अध्यक्ष एवं संविधान सभा सदस्य गोविन्दराम चेपाङले चेपाङ सङ्घले चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि कार्यविधि बनाएर चितवन, मकवानपुर, गोरखा र धादिङ जिल्लाका चेपाङ बाहुल्य क्षेत्रलाई “चेपाङ संरक्षित क्षेत्र” घोषणा गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालको संविधान २०७२ मा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र बनाउन सकिने व्यवस्था भएबमोजिम ती चार जिल्लाका चेपाङ बाहुल्यक्षेत्रलाई “चेपाङ संरक्षित क्षेत्र” घोषणा गर्न माग गर्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइएको बताउनुभयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको व्यवस्थाअनुसार गाउँपालिका तथा नगरपालिका र वडाको सङ्ख्या तथा सिमाना हेरफेर तथा नामाकरण गर्न सातै प्रदेशको मुख्यमन्त्री कार्यालयलाई पत्राचार गरेको छ ।

हालको स्थानीय तह र वडाको सङ्ख्या तथा सीमाना हेरफेर, एक आपसमा गाभिने र नगरपालिकाको वर्गीकरणमा पुनरावलोकन गर्दा चेपाङ समुदायको हाल बसोबास रहेको भूगोललाई चेपाङ समुदायको पहिचान सम्बोधन हुने गरी सिफारिश गर्न आग्रह गरिएको उहाँको भनाई छ ।
चेपाङ सङ्घका अध्यक्ष गोविन्दरामले चितवनको इच्छाकामना गाउँपालिकाको वडा नं. १ र २, कालिका नगरपालिकाको वडा नं. १० र ११ र राप्ती नगरपालिकाको वडा नं. १०, ११, १२ र १३ लाई समेटी चेपाङ भाषामा “झोरालाङ गाउँपालिका” बनाउनुपर्ने प्रस्तावसहित मुख्यमन्त्रीलाई ध्यानाकर्षण बुझाइएको बताउनुभयो ।
यस्तै धादिङको बेनीघाट रोराङ गाउँपालिकाको वडा नं. १, २, ६, ८, ९, १० र गजुरी गाउँपालिकाको वडा नं. ३ र ४ लाई समेटी चेपाङ भाषामा “रोराङ गाउँपालिका” बनाउनुपर्ने माग गरेको छ ।
साथै मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका कुनै गाउँपालिका वा नगरपालिकामा गाँभिने भएमा चेपाङ भाषामा हालको नाम “राक्सिराङ गाउँपालिका” लाई नै कायम राख्नुपर्ने माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको अध्यक्ष गोविन्दराम चेपाङले बताउनुभयो ।
सो अवसरमा मुख्यमन्त्री बानियाँले चेपाङ समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षणमा प्रदेश सरकारले सहयोग गर्ने भन्दै चेपाङ समुदायको मागप्रति सकारात्मक रहेको बताउनुभयो ।
मुख्यमन्त्रीलाई ध्यानाकर्षण बुझाउन सङ्घका महासचिव सन्तबहादुर चेपाङ, बागमती प्रदेशका पूर्व राज्यमन्त्री सन्तबहादुर प्रजा, बागमती प्रदेश अध्यक्ष खुशीलाल चेपाङ, मकवानपुरका जिल्ला अध्यक्ष महेश चेपाङ, मनहरी अध्यक्ष शेरमान चेपाङलगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles