प्रदेश समन्वय परिषद्को छैटौं बैठक सम्पन्न

लोकप्रिय

हेटौँडा, वैशाख १६ गते । बागमती प्रदेशको प्रदेश समन्वय परिषद्को छैटौं बैठक हेटौँडामा सम्पन्न भएको छ ।
बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानयाँले तीनै तहका सरकारबिचको समन्वय र सहकार्यलाई सबल बनाउनुपर्ने बताउनुभयो ।
उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारबिचको समन्वय, सहकार्य र सहअस्तित्वलाई मजबुत बनाउनु पर्ने भन्दै प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई आगामी आर्थिक वर्षमा के के कार्यसम्पादन गर्ने र कति बजेट आवश्यक हुने हो प्रस्ताव गर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री बानियाँले सशर्त, समानीकरण, समानीकरणलगायतका अनुदान, विपद् व्यवस्थापनका विषयमा छलफल भएकोले सबै विषयलाई व्यवस्थित गरेर कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
स्थानीय सरकार र प्रदेश सरकारबिचको हरेक समस्याको समाधानका लागि सहजढङ्गले सहजीकरण गर्न समन्वय परिषद्को बैठक बसेको उहाँको भनाई छ ।
बागमती प्रदेशभित्रका ११९ स्थानीय तहमा कृषि, सडक, पूर्वाधार विकासलगायत प्रदेश र स्थानीय सरकारको अधिकारका सवाललाई व्यवस्थित बनाउन समन्वय र सहकार्यका लागि छलफलसँगै बैठकले परिषद्को बैठक वार्षिक रुपमा दुई पटक गर्ने निर्णय गरेको छ ।

यसअघि परिषद्को बैठक वार्षिक रुपमा एक पटक बस्दै आएकोमा समन्वय र सहकार्यलाई सुदृढसँगै समस्या तत्काल समाधानका लागि दुई पटक बस्ने निर्णय गरिएको हो ।
बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार दामोदर खनाल, बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, मुख्यमन्त्री कार्यालयका सचिव बाबुराम गौतम, समितिका सदस्यहरु जिल्ला समन्वय समिति प्रमुखहरु, नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलगायथको सहभागिता रहेको थियो । सो बैठकमा परिषद्का नवनियुक्त सदस्यहरुलाई स्वागत गरिएको थियो ।

ताजा समाचार

Related Articles