काठमाडौँ, असार ९ गते । चरा तथा पन्छीहरूमा लाग्ने अतिसङ्क्रामक भाइरल रोग ‘बर्ड फ्लू’ अहिलेसम्म ११ जिल्लाका ८२ स्थानमा देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार गत चैत ४ गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लू अहिलेसम्म ११ जिल्लाको ८२ ठाउँमा फैलिएको छ ।

झापा, मोरङ, सुनसरी, महोत्तरी, वारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू देखिएको छ । हालसम्म बर्ड फ्लूबाट प्रभावित भएका पाँच लाख ६९ हजार ८५८ पन्छी र सो क्रममा नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक लाख ९५ हजार ४८५ किलो दाना नष्ट गरिएको छ ।

कोशी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणका लागि पन्छीको ओसारपसारमा रोक लगाएकोमा हाल रोग नियन्त्रण आएपछि सोलाई खुकुुलो बनाइएको डा दाहालले बताउनुभयो । पशु क्वारेन्टाइन कार्यालयमा बर्ड फ्लू रोग सर्न उच्च सतर्कतामा रही, गस्ती परिचालन गरी अवैध रूपमा पैठारी गरिएका शङ्कास्पद पन्छीहरू नष्ट गरिएको थियो । झापा, मोरग, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासीमा रोग नियन्त्रणमा आइसकेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेका केही स्थानमा बर्ड फ्लू रोगको प्रकोप देखिएको छ ।




