हेटौँडा, वैशाख १७ गते । मकवानपुरको भीमफेदी गाउँपालिकाभित्र रहेका अनौपचारिक क्षेत्रका श्रमिक र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।
भीमफेदी गाउँपालिकामा बिहीबार आयोजित कार्यक्रममा ११६ जनालाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आवद्धतासँगै परिचयपत्र वितरण गरिएको हो । योसँगै यस पालिकामा कोषमा आवद्ध हुनेको सङ्ख्या ३११ जना पुगेको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका ४७ जना र अनौपचारिक क्षेत्रका श्रमिक ७९ जना गरी ११६ जनालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको छ ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले कोषमा आबद्धता भएका श्रमिक र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचयपत्र वितरण गर्नुभएको थियो ।
भीमफेदी गाउँपालिकामा सेवा पु¥याउँदै आएको महिला स्वास्थ स्वयंसेविकासँगै अनौपचारिक क्षेत्र निर्माण, यातायात, कृषि र घरेलु श्रमिकहरु कार्यक्रममा आबद्ध भएको भन्दै गाउँपालिकाका अध्यक्ष लामाले गाउँपालिकाले चालु आवमा अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराउन सामाजिक सुरक्षा कार्यक्रमका लागि चालु आवमा ३० लाख रुपियाँ बजेट विनियोजन गरेको बताउनुभयो ।

सामाजिक सुरक्षा योजनाअन्तर्गत श्रमिकहरूले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा तथा वृद्धावस्था सुरक्षालगायतका सेवा सुविधा प्राप्त गर्ने छन् ।
कोषमा आवद्ध भएका श्रमिकले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको सम्बन्धित श्रमिकको ११ प्रतिशत र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको तर्फबाट गाउँपालिकाले ९.३७ प्रतिशत थप गरी २०.३७ प्रतिशत रकम मासिक रुपमा कोषमा योगदान गर्नुपर्ने हुन्छ ।
भीमफेदी गाउँपालिकाले २०८० साउन ३० गते कोषसँग सम्झौतासँगै कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।




