हेटौँडा, वैशाख २१ गते । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ बैकुण्ठमा बर्थिङ सेन्टर तथा प्रसूति केन्द्र सञ्चालनमा आएको छ । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा ४ नम्बरसँग सिमाना जोडिएको कैलाश बैकुण्ठक्षेत्रका गर्भवती महिलाहरुलाईअब आफ्नै गाउँघरको बर्थिङ सेन्टर सुत्केरी गराउन सकिने भएको छ । यसअघि घण्टौँको यात्रापश्चात कैलाश वडा नम्ब.र१ को वरभञ्ज्याङ पुग्नुपर्ने बाध्यता थियो ।

गाउँपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर सञ्चालन गरी सेवा प्रवाह गर्ने लक्ष्यका साथ २ नम्बर वडामा प्रसूति केन्द्र सञ्चालनमा ल्याइएको हो । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बर्थिङ सेन्टरको उद्घाटन गर्दै प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भइसकेको भन्दै अब दुईवटा वडामा मात्रै बर्थिङ सेन्टर सञ्चालन गर्न बाकी रहेको बताउनुभयो । बच्चा र आमाको स्वास्थ्य सुरक्षा होस् भन्ने उद्देश्उले होम डेलिभरीको अन्त्य गर्न उक्त केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएका हौं, उहाँले भन्नुभयो, सुत्केरी बेथा लागेपछि डाडाँखर्क कि त पालुङ लाने गरिन्छथ्यो, त कि त जोखिम मोलेर मनहरी वा हेटौँडा लैजानु पर्ने बाध्यता अब अन्त्य भएको छ ।

निःशुल्क औषधि प्रदान, पोषण कार्यक्रम, खोप कार्यक्रमलगायत धेरै कार्यक्रमहरु गर्दै आइरहेको उहाँले बताउनुभयो ।
वडा नं. २ का वडाध्यक्ष राजेन्द्र घिसिङले बर्थिङ सेन्टर सञ्चालनका लागि सम्पूर्ण सामाग्रीहरु र भौतिक संरचना उपलब्ध रहेको भन्दै मातृशिशु मृत्युदर घटाउनकै लागि प्रसूति केन्द्र निर्माण गरिएको बताउनुभयो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तिलक प्रसाद गौतम, वडा सदस्यद्धय फूलमाया सुनार र सुर्यबहादुर स्याङ्तान, जग्गादाता ललितबहादुर मुक्तान, बैकुण्ठ आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख विश्वनाथ सिंहलगायतको आतिथ्यता रहेको थियो । गाउँपालिकाले १० लाख रुपियाँको लागतमा दुई कोठे भवन निर्माण गरेको हो । जग्गादाता ललितबहादुर मुक्तानले करिब तीन रोपनी जग्गा दान गरेपछि स्वास्थ्य संस्था निर्माण भई बाँकी जग्गामा बर्थिङ सेन्टर निर्माण गरिएको छ ।




