मकवानपुर, वैशाख २१ गते । फ्रेन्ड्स क्लब, ललितपुर मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद स्मृति रङ्गशालामा भएको आठौँ संस्करणको बागमती गोल्डकपको सोमबार भएको खेलमा फ्रेन्ड्सले काठमाडौँको प्लानिङ ब्वाईज युनाईटेडलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित खेल समय गोलरहित बराबरी भएपछि नताजिका लागि भएको टाइब्रेकरमा फेन्ड्सका लागि सुदर्शन श्रेष्ठ, प्रशान्त लक्ष्मी र दिपेश गुरुङले गोल गर्नुभयो । टिमका कप्तान रुपेश केसी र योगेश गुरुङको प्रहार बाहिरिएको थियो । यस्तै प्लानिङका लागि कप्तान फागुराम थारु र शिशिर लेखीले गरेको प्रहार गोलमा परिणत भयो । प्रताप सिं राई, पुजन थापा र निङमा घिसिङको प्रहार बाहिरिएको थियो । खेलमा प्लेयर अफ दि म्याच फ्रेन्ड्सका महेन्द्र कार्की घोषित हुँदै १० हजार रुपियाँ प्राप्त गर्नुभयो ।

फ्रेन्ड्सले अब सेमिफाइनलमा सर्लाहीको बागमती युथसँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनल खेल वैशाख २३ गते र २४ गते तथा फाइनल खेल वैशाख २६ गते हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख एक हजार रुपियाँ र विधागत उत्कृष्टहरुले २५/२५ हजार रुपियाँ प्राप्त गर्नेछन् ।




