अनुसन्धानमा सहयोग रहन्छः मुख्यमन्त्री बानियाँ

लोकप्रिय

मकवानपुर, वैशाख २१ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कानुनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो सहयोग रहने बताउनुभएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार मुख्यमन्त्री बानियाँको हेटौँडा र काठमाडौँस्थित घर एवं उहाँ विगतमा संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएपछि यस्तो प्रतिक्रिया दिनुभएको हो । मुख्यमन्त्री बानियाँले सोमबार एक विज्ञप्ति जारी गर्दै विभागले हेटौँडा र काठमाडौँस्थित आफ्नो घर एवं विगतमा म समेत संलग्न रहेको निर्माण कम्पनीको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको ।

राजनैतिक र व्यावसायिक जीवनका बारेमा गर्ने छानबिनलाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै उहाँले विज्ञप्तिमा भन्नुभएको छ । तर विभिन्न सञ्चार माध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ । उहाँले आफू बागमती प्रदेशको मुख्यमन्त्री भएपछि प्रमुख प्राथमिकता नै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाजको निर्माण रहेको भन्दै बागमती प्रदेश सरकारको सार्वजनिक कार्य सञ्चालनमा खर्च कटौतीका साथै आर्थिक मितव्ययीताका लागि निरन्तर काम गर्दै आएको र आवश्यकता र औचित्यतामा आधारित योजना तथा कार्यक्रम र बजेटमा पारदर्शितालाई नीतिगत रूपमा अगाडि बढाइएको बताउनुभएको छ । तीन तहको सरकारमध्ये प्रदेश सरकारको सरकार प्रमुख मुख्यमन्त्री हो, तीन तहको सरकार समन्वय, सहअस्तित्व र सहकार्यका आधारमा चलेको हुन्छ भन्दै मुख्यमन्त्री बानियाँले सङ्घीय सरकारले गर्ने सकारात्मक कार्यमा प्रदेश सरकारको नेतृत्वकर्ताको रूपमा मुख्यमन्त्रीको सधैँ साथ रहने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

उहाँले विज्ञप्तिमा भन्नुभएको छ, राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा म सहयोग गर्न तत्पर रहेको स्पष्ट पार्न चाहन्छु । उहाँले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात् गरिएको छापामारी प्रति विज्ञप्तिमार्फत आपत्ति जनाउनुभएको छ । उहाँले अगाडि भन्नुभएको छ, राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले पुनः स्पष्ट पार्न चाहन्छु कि संवैधानिक र कानुनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा मेरो पूर्ण समर्थन र सहयोग रहन्छ ।

साथै आफ्नो जीवनको महत्त्वपूर्ण ऊर्जाशील समय युवादेखि विद्यार्थी अवस्था हुँदै चालिस वर्षभन्दा लामो राजनीतिक यात्राका कयौँ आरोह अवरोह पश्चात् हाल म बागमती प्रदेश सरकारको सरकार प्रमुखको रूपमा जनताको सेवक भई मुख्यमन्त्रीको पदमा रहेको भन्दै उहाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छापामारीबाट बागमती प्रदेशवासी एवं मेरा शुभेच्छुक र शुभचिन्तकलाई भ्रमित र चिन्तित नहुन अनुरोध गर्नुभएको छ ।

ताजा समाचार

Related Articles