प्रमलाई ज्ञापनपत्रः जग्गाको पुर्जा माग गर्दै हेटौँडामा विरोध प्रर्दशन

लोकप्रिय

हेटौँडा, वैशाख २१ गते । मकवानपुरका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीले अकभोग गर्दै आएको जग्गाको जग्गाधनी पुर्जा माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।
सङ्घीय सरकारको सुकुम्बासी बस्ती भत्काएकोप्रति विरोध गर्दै मकवानपुरका भूमिहिन सुकुम्बासीहरुले सोमबार हेटौँडामा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
सुकुम्बासीलाई उठिबास लगाउने नभई व्यवस्थापन गर्न माग गर्दै हेटौँडा उपमहानगरपालिका ११ स्थित थानाभ¥याङबाट सुरुभएको विरोध प्रदर्शन जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भूमिहिन सुकुम्वासी, सुकुम्वासी एवं अव्यवस्थित वसोवासीहरुले हकभोग गर्दै आएको सरकारी, ऐलानी, पर्ति, जङ्गल सिमाभित्रको जग्गा खाली गर्न जिल्ला प्रशासन कार्यालय, मकवानपुर र चितवन राष्ट्रिय निकुन्ज कार्यालयबाट जारी सूचनाले आफ्नो वसोवास गर्न पाउने नागरिक अधिकार हनन् भएको उल्लेख छ ।
२०४६ सालभन्दा अघिदेखि नै मुलुकको विभिन्न भागबाट आएका सुकुम्वासी एवं अव्यवस्थित परिवारहरुले हकभोग गर्दै आएको जमिनमा आवश्यक भौतिक पूर्वाधारहरुको व्यवस्था भएको भन्दै हेटौँडा उपमहानगरपालिका, मनहरी, बागमती, बकैया गाउँपालिकालगायतकाक्षेत्रमा सुकुम्वासी एवं अव्यवस्थित वसोवासीहरुको समस्या समाधान गर्न गठित सुकुम्वासी समस्या समाधान आयोगले स्थानीय तहको सिफारिस र नागरिकताका आधारमा निवेदन दर्ता गरी सोको निस्सा प्रदान गरी नापीसमेत भईसकेको ज्ञापनपत्रमा भनिएको छ ।
भूमिहीन सुकुम्बासी सङ्घर्ष समिति मकवानपुरका अध्यक्ष क्षेत्रबहादुर मोक्तानले विगत दस वर्षदेखि वसोवास गर्दै आएको जग्गाको ऐलानी, पर्ति वा सरकारी अभिलेखमा वन लेखिएको भए पनि हकभोगको आधारमा जग्गा उपलब्ध गराउनुपर्ने व्यवस्था कानुनमा रहेको बताउनुभयो ।
उहाँले आयोगले अव्यवस्थित वसोबासीहरुको स्पष्ट रुपमा परिभाषित गरेको र संविधानमा भूमिहिन तथा अव्यवस्थित वसोवासीको हितमा व्यवस्था भएका ऐन र नियमसमेत संविधानतः खारेज नगरिएको अवस्थामा वर्तमान सरकार तथा सचिवस्तरीय निर्णयले सरकारले आफूखुशी संविधान, ऐन, नियम विपरीत कार्य गर्न, गराउन वा निर्देशन दिन संविधान र कानूनतः नमिल्ने बताउनुभयो ।

सुकुम्वासी तथा अव्यवस्थित वसोवासी परिवारको आवासीय अधिकार कुण्ठित हुने गरी जारी सूचना तत्कालै खारेज गरी भूमि ऐन २०२१ अनुसार गठन गरिएको भूमि समस्या समाधान आयोगमार्फत् सुकुम्बासी तथा अव्यवस्थित परिवारहरुले हकभोग गर्दै आएको जग्गाको निस्सा प्रदान गर्न सरकारसँग माग गरिएको छ ।
भुमिहिन सुकुम्वासी सङ्घर्ष समिति, नेपाल वसोवास संरक्षण समाज मकवानपुर, अखिल नेपाल सुकुम्वासी सङ्घ मकवानपुर, राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुर र नेपाल राष्ट्रिय सुकुम्वासी सङ्घको अगुवाईमा ज्ञापनपत्र बुझाइएको हो ।
यस्तै  लालपुर्जाको व्यवस्थापन गर, लगत अनुसार नापनक्सा गर, आत्महत्या दुरुत्साहन बन्द गरलगायतका नारावाजीसहित आएको विरोध ¥यालीले हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामालाई समेत  ज्ञापनपत्र बुझाएको छ ।

ताजा समाचार

Related Articles