कलाकार र संस्कृति राष्ट्रका निधि: राष्ट्रपति पौडेल

लोकप्रिय

काठमाडौँ, वैशाख २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताउनुभएको छ । नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८३ लाई सम्बोधन गर्दै उहाँले हामीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र संगीत हो भन्नुभयो । कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पु¥याउने पनि राष्ट्रपति पौडेलको भनाई थियो ।

राष्ट्रपति पौडेलले संगीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको हाम्रो देशमा साहित्य, कला, गीत, संगीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हो ।’
उहाँले नेपाली सङ्गीतको विकासमा परम्परा र आधुनिकताको सन्तुलन कायम गर्नुपर्ने आवश्यकता पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै परम्परागत धुन, लय र शैलीलाई जोगाउँदै आधुनिक प्रविधि र नवीन प्रयोगमार्फत नयाँ सिर्जना गर्नु आजका सर्जकहरूको चुनौती र अवसर दुवै भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामथ्र्य रहेको गीतसंगीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइ गर्न नहुने भन्दै े सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसंगीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्दछ ।’

उहाँले नेपाली लोक भाका पछ्याउँदै आधुनिक गीतसंगीतको सिर्जनामा नातिकाजीले पु¥याउनुभएको योगदान अनुकरणीय रहेको बताउदै भन्नुभयो – ‘नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उहाँलाई नेपाली गीतसंगीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको छ । विशेषत उहाँका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली संगीतको गौरवलाई बढाएको छ ।’

ताजा समाचार

Related Articles